ऋषभ पन्तले आफ्नो छोटो करियरमा कयौं मौकामा चुकेका छन्। फेरि यस्तै एउटा मौका उनको हातबाट चिप्लिएको छ।
ईङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको भारतीय टोलीमा उनी अटाउन सकेनन्। उनको सट्टा टोलीमा दिनेश कार्तिकले मौका पाएका छन्।
विश्वकप टोलीको चयनसमितिका अध्यक्ष एमएसके प्रसादका अनुसार पंतले टोलीमा लगभग ठाँउ बनाएका थिए।
इङ्ल्याण्ड तथा अस्ट्रेलिया विरूद्ध शतक बनाउने पहिलो भारतीय विकेटकिपर बनेका पंतको टोलीमा पर्ने सम्भावना बलियो थियो तर अन्तिममा उनले मौका पाउन सकेनन्।
‘यस मामिलामा हामीले चर्चा गरेका थियौं। हामीले महेन्द्र सिंह धोनी घाइते भएको अवस्थामा दिनेश कार्तिक वा पंतलाई अन्तिम ११ मा मौका दिने सोचेका थियौं। हामी क्वाटरफाइनल वा सेमिफाइनलमा पुगेको खण्डमा विकेट किपिङले महत्वपूर्ण अर्थ राख्छ’, प्रसादले भने।
प्रसादको यस टिप्पणीबाट पंतको विकेटकिपिङका बारेमा भारतीय चयनसमिति ढुक्क नभएको बुझ्न सकिन्छ।
‘यही कारणले मात्र हामीले दिनेश कार्तिकलाई छनौट गरेका हौं नत्र पंतले टोलीमा लगभग ठाँउ बनाइसकेका थिए। पंतमा एकदमै धेरै प्रतिभा छ’, प्रसादले भने।
आक्रमक ब्याटिङ गर्ने ऋषभले कुनै पनि बलिङलाई ध्वस्त पार्ने क्षमता राख्छन्।
उनले सन् २०१६ मा ढाकामा भएको अन्डर १९ को विश्वकप ठूलो शट खेल्न सक्ने देखाएका थिए। त्यसको १२ महिनापछि उनले ईङ्ल्याण्डविरूद्ध पहिलो अन्तराष्ट्रिय डेब्यू गरेका थिए।
उनी राम्रो खेल्नेमा कसैको शंका नभए पनि महत्वपूर्ण अवस्थामा मौका गुमाउनेका रूपमा उनको आलोचना हुनेगर्छ। यसमा हाल उनले सुधार गरेपनि चयनकर्तालाई आश्वस्त पार्न नसक्नाले विश्वकपबाट बाहिरिएका छन्।