इङ्डियन प्रिमियर लिगमा शुक्रबार भएको खेलमा सनराइजर्स हैदरबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ। जारी लिगमा हैदरबादको यो पहिलो जित हो भने राजस्थानको यो लगातार दोश्रो हार हो। हिजोको खेलमा डेविड वार्नर (६९), जोनी बेयरस्टो(४५) तथा विजय शंकर(३५)को पारीले हैदराबादलाई जित दिलायो। उनीहरूको यो योगदानले हिजोको खेलमा राजस्थानका सन्जु स्यामसनको नटआउट १०२ रन स्कोरलाई किनारा लगाइदियो।
राजिब गान्धी अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको राजस्थानले २ विकेटको क्षतिमा १९८ रनको विशाल योगफल तयार गरेको थियो। सो लक्ष्यलाई हैदरबादले ५ विकेटको क्षतिमा १९ ओभरमा हासिल गर्यो। यस मैदानमा राजस्थान विरूद्ध हैदराबादको यो ३ म्याचमा तेश्रो जित हो।
राजस्थानले दिएको १९९ रनको लक्ष्य पछ्याउन उत्रेको हैदराबादका लागि वार्नर र बेयरस्टोले ९.४ ओभर खेल्दै पहिलो विकेटका लागि ११० रनको शतकिय पारी खेले।
खतरनाक हुँदै गएको यस साझेदारीलाई बेन स्टोक्सले वार्नरलाई आउट गर्दै भत्काएका थिए। वार्नरले ३७ बलमा ९ चौका र २ छक्का लगाए। वार्नर आउट भएपछि अर्को ओभरमा बेयरस्टो टोलीको ११७ रन स्कोरमा आउट भए। उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
टोलीलाई तेश्रो झटका १६४ रन बनाउँदा कप्तान केन विलियम्स(१४) का रूपमा मिल्यो। यस्तै उसले चौथो झट्का १६७ को स्कोरमा विजय शंकर आउट भएपछि पायो। विलियम्सले १० बलमा २ चौका हाने।
विजय र विलियम्सले तेश्रो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। शंकरले १५ बलमा १ चौका र ३ छक्का हानेका थिए। यस्तै १६७ मा मनीष पांडे केबल १ रन बनाएर पेभिलियन फर्किए।
पूर्व च्याम्पियन हैदरबादलाई हिजोको खेलमा जितका लागि अन्तिम २४ बलमा ३० रन बनाउनुपर्ने अवस्था आएको थियो जसलाई उसले १९ औं ओभरमा पाँचौ विकेट गुमाएर हासिल गर्यो।
युसुफ पठानले १२ बलमा १ छक्काको सहयोगमा नटआउट १६ रन बनाए भने राशिद खानले ८ बलको सामना गर्दै नटआउट १५ रन जोडे। यसक्रममा उनले १ चौका र १ छक्का हाने। दुबैले छैटौं विकेटका लागि अविजित ३४ रनको साझेदारी गरे।
राजस्थानका लागि श्रेयस गोपालले ३ र बेन स्टोक्स तथा जयदेव उनादकटले १-१ विकेट लिए।
त्यसअघि राजस्थानका लागि सन्जु स्यामसनले नटआउट १०२ रनको शानदार पारी खेले भने कप्तान अजिंक्य रहाणेले ७० रन बनाए। उनीहरूले २ विकेटको क्षतिमा टोलीलाई १९८ रनको योगफलमा पुर्याएका थिए। तर उनीहरूका बलरहरूले यस स्कोरलाई जोगाउन सकेनन्।
हिजोको खेलमा उनीहरूको सुरूवात खराब रह्यो। ३.२ ओभरको समाप्तिमा १५ रनको टिम स्कोरमा जोस बटलरलाई गुमाएको थियो। बटलरले केवल ५ रन मात्र बनाउन सके।
त्यसपछि दोश्रो विकेटका लागि स्यामसन र रहाणेले ११९ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। स्यामसनले ५५ बलमा १० चौका र ४ छक्का लगाए। यो आइपिएलमा उनको दोश्रो शतक थियो।
यस्तै रहाणेले ४९ बलमा ४ चौका र ३ छक्का हाने। उनी १५.५ ओभरमा टोलीले १३४ रन बनाउँदा आउट भए।
त्यसपछि स्यामसनले बेन स्टोक्ससँग मिलेर तेश्रो विकेटका लागि अविजित ६४ रनको साझेदारी गरे। यस क्रममा स्टोक्सले नटआउट १६ रन बनाए। उनले ३ चौका प्रहार गरे। राजस्थानले अन्तिम पाँच ओभरमा ७६ रन जोडेको थियो जसले उनीहरूको स्कोर २० ओभरको समाप्तिमा १९८ भयो।
हैदराबादका लागि राशिद खान तथा शहबाज नदीमले १-१ विकेट लिए। अनुभवी बलर भुवनेश्वर कुमारले चार ओभर बलिङ गर्दै ५५ रन दिएका थिए।