शनिबारदेखि सुरू भएको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न नेपाली यूवा लेग स्पिनर सन्दीप लामिछाने अहिले भारतमा छन्।
आइतबार राति सवा ८ बजे उनको टिम दिल्ली क्यापिटल्सले १२ औं संस्करणको पहिलो खेल मुम्बईको वानखडे स्टेडियममा घरेलु टिमसँग खेल्यो।
खेल सुरू हुनुअघि दिल्ली क्यापिटल्सले एउटा फोटो ट्वीट गरेको थियो। जसमा टिममा भएका सन्दीपसहित सात विदेशी खेलाडी थिए। दिल्लीले सोधेको थियो-तपाईं यीमध्ये मुम्बईविरूद्ध कुन चार खेलाडी खेलेको हेर्न चाहनुहुन्छ?
अघिल्लो संस्करणमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेलमात्र खेल्न पाएका सन्दीपले प्रतियोगितामा सबैभन्दा कम इकोनोमी भएका दोस्रो स्पिनर बनेका थिए। उनीभन्दा कम इकोनोमी इकोनोमी रेट न्युजिल्याण्डका इश सोधीको मात्र थियो। उनले तीन खेलमा पाँच विकेट लिएका थिए। अन्तिम म्याचमा मुम्बई इन्डियन्सविरूद्ध तीन विकेट लिएर सन्दीपले उसको प्लेअफमा पुग्ने सम्भावना समाप्त पारिदिएका थिए।
त्यसयता अष्ट्रेलियाको प्रतिष्ठित बिग ब्यासदेखि संसारभरका अधिकांश टी-ट्वान्टी प्रतियोगिता खेलिसकेका सन्दीप हिजो दिल्लीको प्लेइङ ११ मा पर्ने धेरैको अपेक्षा थियो। तर खेल सुरू हुनु आधा घन्टाअघि सार्वजनिक भएको दिल्लीको प्लेइङ ११ मा सन्दीपको नाम थिएन।
त्यसो त कुनै पनि टिमका कुनै पनि खेलाडी कुनै खेलको प्लेइङ ११ मा नपर्नु सामान्य हो। तर कुनै महत्वपूर्ण खेलाडी प्लेइङ ११ म नपर्नुका पछाडि कारण भने पक्कै हुन्छन्।
गत सिजनमा मुम्बईविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका सन्दीप यसपालि सोही टिमविरूद्धको खेलमा किन परेनन् भन्ने कुनै कारण सार्वजनिक भएको छैन।
हिजोको खेलमा सन्दीप प्लेइङ ११ मा नपर्नुका पछाडि पिच र सन्दीपको कमजोर ब्याटिङ कारण हुन सक्छन्।
दिल्लीको माथिल्लो क्रममा पाँच ब्याट्सम्यानमध्ये कोही पनि बलिङ गर्दैनन्।
मुम्बईको ब्याटिङ पिचमा भएको हिजोको खेलमा स्पिनरभन्दा फास्ट बलर प्रभावकारी हुने ठहर दुबै टिमले गरेको देखिन्छ। त्यस्तोमा दिल्लीले आफ्नो खेल जीवनकै उत्कृष्ट फर्ममा रहेका दक्षिण अफ्रिकाका फास्ट बलर कगिसो रवादा र न्युजिल्याण्डका ट्रेन्ट बोल्टलाई मैदानमा उतार्यो।
यो वर्ष विभिन्न टि-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शन गरेका दक्षिण अफ्रिकाका ब्याट्सम्यान कलिन इन्ग्रामलाई खेलाएपछि चार विदेशी खेलाडीको कोटामा एउटा ठाउँमात्र बाँकी रहन्थ्यो।
टिमको प्लेइङ ११ मा पर्नका लागि सन्दीपले पोहोर साल सात करोड भारू तिरेर दिल्लीले रिटेन गरेका दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिसजस्ता खेलाडीसँग प्रतिष्पर्धा गर्नुपर्थ्यो।
दिल्लीले मोरिसलाई पनि नखेलाएर वेस्ट इन्डिजका उदीयमान अलराउन्डर किमो पावललाई हिजो मैदानमा उतार्यो।
माथिल्लो क्रमका पाँच ब्याट्सम्यानहरू कोही पनि बलिङ नगर्ने भएकाले दिल्लीले भारतीय राष्ट्रिय टोलीबाट धेरै खेल खेलसकेका अनुभवी अमित मिश्राको साटो ब्याटिङ गर्न सक्ने स्पिनर अक्षर पटेल र राहुल टेवाटियालाई प्लेइङ ११ मा राख्यो।
सीमित ओभरका खेलहरूमा घटीमा पाँच जना बलर हरेक टिमले खेलाउनु पर्छ। दिल्लीका प्रमुख बलर रवादा र बोल्ट पनि खासै ब्याटिङ नगर्ने भएकाले ब्याटिङ डेप्थका लागि पनि दिल्लीले अलिअलि ब्याटिङ गर्ने बलर खेलाउनै पर्थ्यो।
वानखडे रंगशालामा भएको आइतबारको खेलमा स्पिनरलाई मद्दत नपुग्ने दुबै टोलीको अनुमान सही सावित भयो। पटेलले तीन ओभरमा ४२ रन खर्चिए भने १ ओभरमा ११ रन दिएका टेवाटियालाई म्याच आफ्नो पक्षमा पर्ने निश्चित भएपछि २० औं ओभरमा मात्र दोस्रो ओभर बलिङ गर्न दिइयो।
कुनै पनि विशेषज्ञ स्पिनर नखेलाएको मुम्बईका स्पिन बलिङ गर्ने अलराउण्डर क्रुनाल पाण्ड्याले पनि २ ओभरमात्र बलिङ गर्न पाए। उनले आफूले गरेका दुई ओभरमा २१ रन खर्चिए।
प्लेइङ ११ मा परिरहेका विदेशी खेलाडी घाइते नभए वा विश्वकपको तयारीका लागि बीचैमा छोडेर नगए आउँदा खेलमा पनि सन्दीपलाई कठिन हुने देखिन्छ।
यो वर्ष उत्कृष्ट फर्ममा रहेका र हिजोको खेलमा सुरूको चार ओभरमा दुई विकेट गुमाएपछि दिल्लीलाई खेलमा फर्काएका इन्ग्राम अरू खेलमा पनि पर्ने प्रवल सम्भावना छ। रवादा र बोल्ट दुबै राम्रो फर्ममा रहेकाले उनीहरू पनि टिम पर्नेछन्। बाँकी रहेको एक ठाउँमा पर्न किमो पउलसँगको प्रतिष्पर्धामा सन्दीपभन्दा बिस्फोटक ब्याटिङ गर्ने अलराउन्डर मरिस अगाडि हुनेछन्।
स्पिनरलाई मद्दत गर्ने पिच भएमामात्र सन्दीप प्लेइङ ११ मा अटाउने देखिन्छ। उद्घाटन खेल भएको चेन्नईको चेपक रंगशालाजस्तै स्पिनरलाई मद्दत गर्ने पिच भए उनले बोल्टको ठाउँ लिन सक्छन्।
त्यस्तै गत सिजनमा बिक्री नै नभएका भारतीय टेस्ट बलर इशान शर्माले हिजोझैं राम्रो बलिङ गरिरहे वा यूवा फास्ट बलर आवेश खानले भरोसालायक प्रदर्शन गरे भने दिल्लीले रवादा र बोल्टमध्ये एक जनाको ठाउँमा सन्दीपलाई खेलाएर स्पिन बलिङ मजबुद् बनाउन सक्छ।