कोलकाता नाइट राइडर्सले सनराइज हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।
कोलकाताको जितमा विस्फोटक व्याट्सम्यान आन्द्रे रसेलको १९ बलमा ४९ रनको नटआउट स्कोरको योगदान महत्वपूर्ण रह्यो। पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जसलाई कोलकाताले १९.४ ओभरमा ४ विकेट गुमाउँदै हासिल गर्यो।
१९ बलमा ४९ रन बनाएका रसेलले समान ४-४ छक्का र चौका प्रहार गरेका थिए। शुभमन गिलले १० बलमा २ छक्काको सहयोगमा नटआउट १८ रनको योगदान दिएका थिए। यी दुबैले पाँचौ विकेटका लागि ६५ रन को अविजित साझेदारी गरे र कोलकातालाई जित दिलाए।
१८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको कोलकाताको सुरूवात भने खराब भयो। क्रिस गेल ७ रनमै आउट भएका थिए। त्यसपछि नितिश राणा र रोबिन उथप्पाले दोश्रो विकेटका लागि ८० रनको साझेदारी गरे। उनीहरूले क्रमश: ६८ र ३५ रन बनाए।
उथप्पा फास्ट बलर सिद्धार्थ कौलबाट बोल्ड भए। उथप्पाले २७ बलमा ३ चौका तथा १ छक्का प्रहार गरेका थिए। उथप्पा बाहिरिएपछि कप्तान दिनेश कार्तिक मात्र २ रनमा आउट भए। त्यस्तै ३ विकेट र ११८ रन जोडेको अवस्थामा राना चौथो विकेटको रूपमा बाहिरिए।
यसपछि जितका लागि कोलकातालाई ३ ओभरमा ५३ रन आवश्यक थियो जसलाई रसेलको आक्रमक पारीले हैदराबादबाट जित खोस्यो। पूर्व विजेता हैदराबादका लागि शाकिब अल हसन, सन्दिप शर्मा, सिद्धार्थ र राशिद खानले १-१ विकेट लिए।
यसअघि हैदराबादले ३ विकेटमा १८१ रनको बलियो स्कोर खडा गरेको भएपनि उसका बलरले त्यसलाई जोगाउन सकेनन्।
हिजोको खेलमा कोलकाताले टस जित्दै पहिले बलिङ् गर्ने निर्णय गरेको थियो। कोलकाताको यस निर्णयलाई बेयरस्टो तथा वार्नरले दबाबमा पारिदिए।
टिमको ११८ रनमा आउट हुँदा बेयरस्टोले ३५ रन जोडेका थिए। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। हैदराबादले दोश्रो विकेट ११४ रनमा वार्नरको रूपमा झरेको थियो। एक वर्षपछि आईपिएलमा फर्किएका वार्नर टिमको १४४ रन स्कोरमा आउट भए। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
उनले आईपिएलमा ५० वा त्यो भन्दा बढि रन बनाएको ४० अवसर हो। युसुफ पठान केवल १ रनमा आउट भए।
विजय शंकरले २४ बलमा २ चौका र २ छक्का प्रहार गरेर नटआउट ४० रन जोड्दा मनिष पाण्डेले पाँच बलमा १ चौकासहित नटआउट ८ रनको योगदान दिए। दुबैले चौथो विकेटका लागि नटआउट २९ रनको अविजित साझेदारी गरेका थिए। हैदरवादले अन्तिम ओभरमा १ विकेट गुमाउँदै ३७ रन जोडेको थियो। कोलकाताको लागि रसेलले २ तथा पियूष चावलाले १ विकेट लिएका थिए।