भारतीय कप्तान विराट कोहलीले विश्वकप क्रिकेटका लागि 'फिट र फ्रेस' रहन आइपिएलका १-२ म्याच आफूले नखेल्न पनि सक्ने बताएका छन्।
'हो, यसको ठूलो सम्भावना छ। किन नबस्ने?', उनले भने, 'यो स्वयंको जिम्मेवारी हो। सम्भव भएसम्म लागेको चोटको सूचना दिनु र योजना अनुसार काम गर्ने कुरा खेलाडीमा निर्भर पर्छ।'
रोयल चेलेन्जर्स बैङ्ग्लोर र चेन्नई सुपर किङ्सबीचको म्याचको पूर्बसन्ध्यामा कुरा गर्दे कोहलीले यस्तो बताएका हुन्।
'हामीले खेलाडीलाई फूर्तिलो बन्न भनेका छौं। आफूलाई के भइरहेको छ त्यसको जानकारी फिजियोलाई दिन पनि भनेका छौं। यदि फिजियोले नखेल्नु भन्छन् भने त्यसको सम्मान गरिनुपर्छ', उनले थपे।
यस्तै यसले लिगमा असर गर्छ या गर्दैन? भन्ने प्रश्नमा कोहलीले यो सबै खेलाडीले बनाउने सन्तुलनमा भरपर्ने बताए।
'म आफ्नो तरिकाको योगदान दिन तयार छु। मलाई थाहा छैन की आइपिएलको दौरानमा भारतीय खेलाडी कत्तिको प्रतिष्पर्धी वा सहज बन्छन्। सबै व्यवसायिकलाई सन्तुलन कसरी कायम गर्ने थाहा छ। आखिरमा तपाईं एउटा फ्रान्चाइजीका लागि खेल्दै हुनुहुन्छ र उनीहरूले तपाईंमाथि भर गरिरहेका हुन्छन्', कोहलीले भने।
उनले खेलमा खेलाडीले १२० प्रतिशत दिनुपर्ने पनि बताए।
'म ७०-८० प्रतिशत प्रदर्शनमा विश्वास गर्दिन। मलाई केटाहरूले यसमा ध्यान दिनेछन् भन्ने भरोसा छ तर यस्तै गर्नपर्छ भनेर म उनीहरूलाई बाध्य पनि पार्दिन', उनले थपे।
त्यस्तै कोहलीले चेन्नईसँगको म्याचमा आफ्नो टोलीका घरेलु खेलाडीको प्रतिभा देखिने बताए।