भारतीय ब्याट्सम्यान गौतम गंभीरले भारतीय टोलीका कप्तान एवम् ब्याटसम्यान विराट कोहली 'चलाख कप्तान' नभएको बयान दिएका छन्। उनले विराटको तुलना पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनी तथा उपकप्तान रोहित शर्मासँग तुलना गर्न नसकिने बताएका छन्।
धोनी र शर्माको कप्तानीमा चेन्नई सुपर किङ्स तथा मुम्बई इन्डियन्सले ३-३ पटक आइपिएलको उपाधि जितिसकेका छन्।
आफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र १४ को उपाधि दिलाएका गंभिरले पछिल्लो ८ वर्षमा एकपटक पनि उपाधि जिताउन नसक्दा पनि रोयल च्यालेन्जसर्ससँग रहिरहनुलाई कोहली भाग्यशाली रहेको मान्नुपर्ने बताए।
'म उनलाई चलाख कप्तानका रूपमा हेर्दिन। म उनलाई रणनीतिक कप्तानका रूपमा पनि देख्दिन। उनले आइपिएलको उपाधि पनि जितेका छैनन्। एउटा कप्तान त्यति नै राम्रो हुन्छ जति उसको रेकर्ड हुन्छ', गंभीरले भने।
गंभिरले कोहलीबारेमा यस्तो टिप्पणी एक आइपिएल कप्तानका रूपमा गरेका हुन्।
'आइपिएलमा ३ पटक ट्रफी जितेका कप्तान छन्। ती धोनी र रोहित हुन्। यसकारण मलाई कोहलीले अझै लामो यात्रा गर्न बाँकी रहेको लाग्छ। त्यसकारण तपाईंहरूले उनको तुलना धोनी तथा रोहितसँग गर्न सक्नुहुन्न', गंभिरले भने, ' कोहली आरसिबीको हिस्सा रहँदै आएका छन् र ७-८ वर्षदेखि उनीहरूको साथै छन्। उनी यसमा भाग्यशाली छन् र उनले कप्तान रहिरहेकोमा यस फ्रान्चाइजलाई धन्यवाद दिनुपर्छ किनकी टुर्नामेन्ट नजितेका कयौं कप्तानलाई यति लामो समय दिइदैन्।'