तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ।
शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधि जितेको हो।
फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्न सफल भयो।
अत्तरियाको जितमा सन्नी पटेलले सर्वाधिक ४७ रन जोडे।
यस्तै जय किशन कोल्शावालाले ३० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।
उपाधिसँगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको महेन्द्रनगरले १२ लाख प्राप्त गरेको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो ।