जारी धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले शुक्रबार महेन्द्रनगरविरूद्ध हुने दोस्रो क्वालिफायर्स खेल बहिष्कार गर्यो। आफ्ना महत्वपूर्ण खेलाडी अफ स्पिनर अंकित दबासलाई बलिङ एक्सन शंकास्पद ठहर गर्दै बिहीबार डिपीएलको प्राविधिक समितिले बलिङ गर्न प्रतिबन्ध गरेपछि उक्त निर्णयको विरोधमा काठमाडौंले क्वालिफायर्स नखेल्ने घोषणा गरेको हो। काठमाडौंको बहिष्कारपछि महेन्द्रनगर युनाइटेड फाइनलमा पुगेको छ।
प्रतियोगिताका अघिल्ला खेलमा केही नभन्ने र अन्तिममा ‘सस्पेक्ट एक्सन’ ठहर्याउने भन्दै गोल्डेन्सले समितिको निर्णयप्रति आपत्ति जनाएको हो। टिम म्यानेजर सन्जय श्रेष्ठले सेतोपाटीसँग भने, ‘अम्पायर भन्दैमा जे पनि निर्णय गर्न पाइन्छ? हाम्रो देशमा मात्र अम्पायरहरूको मनपरी छ।’
दबासमाथि लगाइएको ‘सस्पेक्ट बलिङ एक्सन’ बारे पहिले नै टिमलाई जानकारी गराएको प्राविधिक टोलीको दाबी छ।
‘सस्पेक्ट बलिङ एक्सन’ भनेको के हो?
क्रिकेटको सर्वोच्च संस्था आइसिसीको नियमअनुसार ‘सस्पेक्ट बलिङ एक्सन’ मा परेका बलरलाई आइसिसीले बलिङ गर्न प्रतिबन्ध लगाउँछ । तर त्यसको लागि विशेष परीक्षणमार्फत् बलरले बलिङ गर्दा ‘सस्पेक्ट बलिङ एक्सन’ भएको प्रमाणित हुनुपर्छ। क्रिकेटमा बलिङ गर्दा हात सिधा हुनुपर्छ। पूरै सिधा हुन नसके कुहिनाभन्दा मूनिको भाग पाखुरासँग बढीमा १५ डिग्रीसम्म बंग्याउन सकिन्छ। त्यस्तो बंगाई १५ डिग्रीभन्दा बढी भएको शंका लागे अम्पायरले म्याच रिपोर्टमा ‘सस्पेक्ट बलिङ एक्सन’ भएको उल्लेख गर्छन्।
सन् २००४ अघि स्पिनरले बलिङ गर्दा ५ डिग्री र फास्ट बलरले १० डिग्रीसम्म बंग्याउन पाउँथे। पछि बलरहरूको ‘बायोमेकानिकल’ अध्ययन गर्दा अधिकांशले कुहिना १२ डिग्री बंग्याउने गरेको तथ्य आएपछि आइसिसीले नै १५ डिग्रीको नयाँ नियम लागु गर्यो।
बलिङ गर्दा बलरको कुहिना बढी बांगियो भने फास्ट बलरले अतिरिक्त गति प्राप्त गर्छन् भने स्पिनरले बल बढी घुमाउन सक्छन्। ‘बल थ्रोइङ’ भनिने यस्तो बलिङलाई आइसिसीले मान्यता दिँदैन।
यो समस्या पाकिस्तानी अलराउण्डर मोहम्मद हफिजले लगातार व्यहोरिरहेका छन्। हालैमात्र पार्ट टाइम स्पिन बलिङ गर्ने भारतीय ब्याट्सम्यान अम्बाती रायडुलाई प्रतिबन्ध लागेको थियो।
केही महिनाअघि भएको अष्ट्रेलियाविरूद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा रायडुको बलिङलाई रेफ्रीले ‘सस्पेक्ट बलिङ एक्सन’ भने। रायडुको बलिङलाई आइसिसीको परीक्षण केन्द्रमा टेस्ट गरिने भयो । प्रमाणित नभएसम्म आइसिसीले रायडुलाई अन्तर्राष्ट्रिय खेलमा बलिङ गर्न छुट दियो ।
अम्पायरले शंकास्पद बलिङ एक्सन भनेर रिपोर्ट गरेपछि बलरले आइसिसी मान्यताप्राप्त जाँच केन्द्रमा गई परीक्षण गराउनु पर्छ। विभिन्न प्रविधि जडान गरेर शारिरीक चालसम्बन्धी विज्ञ टोलीको निरीक्षणमा बलरलाई बलिङ गर्न लगाइन्छ।
अम्पायरले शंकास्पद बलिङ एक्सन भनेर रिपोर्ट गरेपछि बलरले आइसिसी मान्यताप्राप्त जाँच केन्द्रमा गई परीक्षण गराउनु पर्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
‘सस्पेक्ट बलिङ एक्सन’ भएको प्रमाणित भए बलरलाई बलिङ गर्न प्रतिबन्ध लगाइन्छ। बलरले बलिङ शैलीलाई नियमभित्र परिवर्तन गरेर आए आइसिसीले उसलाई बलिङ गर्न फुकुवा गर्न सक्छ।