काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिष्कार गरेपछि महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
महेन्द्रनगरविरुद्ध हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिष्कार गरेपछि महेन्द्रनगरले सोझै फाइनल खेल्ने भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।
गोल्डेन्स टिमको महत्वपूर्ण खेलाडी अंकित दबासलाई बलिङ एक्सन अबैध ठहर गर्दै बिहिबार डिपीएलको टेक्निकल कमिटिले बलिङ गर्न प्रतिबन्ध गरेपछि गोल्डेन्सले उक्त निर्णयको बिरोध गर्दै नखेल्ने घोषणा गरेको हो।
गोल्डेन्स टिमका ब्यबस्थापक सञ्जय श्रेष्ठका अनुसार टेक्निकल कमिटिले दबासको बलिङबारे ढिला मात्र खबर गरेको र प्रतियोगितामा आफ्नो टिम बिरुद्ध बिभिन्न निर्णयहरु भएको भन्दै नखेल्ने निर्णय गरेको हो।
दबास भारतको प्रतिष्ठित रणजी ट्रफी र अन्य उमेर समूहको प्रतियोगितासमेत खेलिसकेका स्तरीय खेलाडी भएको भन्दै श्रेष्ठले यो स्तरको खेलाडीलाई बलिङ गर्न प्रतिबन्ध लगाउने कुरा आफूहरूलाई चित्त नबुझेको उनको गुनासो थियो।
प्रतियोगिताको पहिलो क्वालीफायरमा सीवाईसी अत्तरियासँग पराजित भए पछि काठमाडौं गोल्डेन्सले फाइनल प्रवेशको लागि महेन्द्रनगर युनाईटेडसँग आज १२:३० बजे खेल्ने तालिका थियो।
प्रतियोगितामा काठमाडौंको लागि महत्वपूर्ण प्रदर्शन गर्ने क्रममा दबासले ५ खेलमा ६ विकेट लिईसकेका थिए भने अत्यन्त किफायती बलिङ समेत गरेका थिए।
काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए।
५ खेलमा २० ओभर बलिङ गरेका उनले ३.८५ प्रतिओभर रन खर्चेका थिए। यस्तै उनले बलिङबाहेक ब्याटिङमा पनि १५३ रन पनि बनाएका थिए।
अब महेन्द्रनगरले सिवाइसी अत्तरियासँग भोलि फाइनल खेल्नेछ।