विराटनगरलाई हराउँदै अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुगेको छ।
सोमबार धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सलाई १० रनले हराउँदै एक खेल अगावै अत्तरिया प्ले अफमा पुगेको हो।
यस्तै यो हारसँगै विराटनगर नेट रन रेटमा महेन्द्रनगर युनाइटेडसँग पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
विराटनगरको बहिर्गमनसँगै महेन्द्रनगर प्ले अफमा पुगेको छ। महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक भए पनि नेट रनरेटमा महेन्द्रनगरले उछिनेको हो।
अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्य पक्ष्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३८ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि आशिफ शेखले ३९, पृथु बाँस्कोटाले २७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। शेखले ३४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दा बाँस्कोटाले २६ बलमा ४ चौका प्रहार गरेका थिए।
विराटनगरका असद उल्लाह खान १३, कारण केसी १२, किशोर महतो ८, हरि शंकर शाह ७, साम्सद शेख ७, कुशल भुर्तेल ३ र राजेश पुलामी मगर शून्यमा आउट भएका थिए।
अत्तरियाका लागि भुवन कार्की र दिपेन्द्र राउतले ३-३ विकेट लिए। दिपेन्द्रसिंह ऐरीले एक विकेट हात पारेका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो।
उसका लागि दुबै भारतीय खेलाडीले उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए।
जारी डिपिएलमा प्रतियोगिताकै सर्वाधिक लक्ष्य प्रस्तुत गरेको अत्तरियाका लागि सन्नि पटेलले ३१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । त्यस्तै अर्का भारतीय खेलाडी जय किशन कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहेका थिए।
विराटनगरका लागि शुसन भारी र साम्सद शेखले समान एक एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन्।