बिस्फोटक ब्याट्मेन क्रिस गेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन्। इंल्याण्ड र वेल्समा हुने विश्वकपपछि वेष्टइण्डिजका बिस्फोटक ब्याट्समेन क्रिश गेलले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन्।
३९ वर्षिया बायँ हाते ब्याट्सम्यान गेलले एक दिवसीय क्रिकेटमा ९ हजार ७ सय २७ रन बनाएका छन्। उनको यो रन ब्रायन लारापछि वेस्टइन्डिजका कुनै पनि ब्याटसम्यानले बनाएको सर्वाधिक दोस्रो रन हो। उनले २८४ खेलको २७९ इनिङ्सबाट उक्त रन बनाएका हुन्।
लाराले सबैभन्दा धेरै १० हजार ४ सय ७ रन बनाएका थिए।
सन् १९९९ मा भारतविरूद्ध खेल्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा डेब्यू गरेका गेलले सर्वाधिक २१५ रन बनाएका थिए। उनले सन् २०१५ को विश्वकपमा जिम्बाम्बेविरूद्ध दोहोरो सतक प्रहार गरेका हुन्।
विश्वकपमा दोहोरो सतक प्रहार गर्ने गेल पहिलो खेलाडीसमेत हुन्। उनले १३८ बलमै २०० रन पुरा गरेका थिए। १४७ बल खेलेका गेलले १० चौका र १६ छक्का प्रहार गरेका थिए।
यस्तै उनी एक दिवसीय अन्तर्राष्ट्रियमा दोहोरो सतक बनाउने छैठौं खेलाडीसमेत हुन्।
२७९ इनिङ्सबाट उनले २३ सतक र ४९ अर्धसतक प्रहार गरेका छन्। २७५ वटा छक्का र १०७३ वटा चौका उनले प्रहार गरेका छन्।
गेलले क्रिक इन्फोसँग कुरा गर्दै आफू आफ्नो सीमा रेखालाई कोर्दै एउटा भूमिकाबाट मुक्त हुन चाहने बताए। साथै उनले अब युवा खेलाडीलाई टिममा मौका दिने सोचका साथ यो निर्णय लिएकोसमेत खुलाएका छन्।
सन्यासको घोषणापछि गेलले भने, 'म एउटा खेरा तान्न खोजीरहेको छु वा एउटा तार काट्दैछु। नयाँ पीढिलाई रमाउने मौका दिउँ जसको मजा म नेपथ्यमा बसेर लिन सकूँ।’
आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म हुने विश्वकप खेलेर बिदाई हुन लागेका गेल टी–२० मा विशेष ध्यान दिने मनसाय बनाएका छन्।
बुधबारदेखि हुने इंग्ल्याण्डविरुद्धको ५ एकदिवसीय सिरिजका लागि टिममा परेका गेलले करियरको अन्तिममा विश्वकप जितेर विदाई हुन पाए त्यो भन्दा खुसीको क्षण केही नहुने बताएका छन्।
ब्याटिङका साथै उनी पार्टटाइम स्पिनरसमेत हुन्। एकदिवसीयमा १ सय ६५ विकेटसमेत लिइसकेका छन्।