अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगमा सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स उपविजेतामा सिमित भएको छ। आइतबार भएको फाइनलमा मेलबर्न रेनेगार्डसँग १३ रनले पराजित भएको हो।
रेनेगाड्सलाई जिताउन बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। क्रिस ट्रेमाइन, क्यामरोन बोइस र डानियल क्रिस्टिइनले समान २-२ विकेट लिए।
१४६ रनको सामान्य लक्ष्य पछ्याएको स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। उसका लागि बेन डुन्क र मार्कस स्टोनिसले ९३ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरूवात दिलाए पनि त्यसपछि भकाभक विकेट गुमाउँदा ३९ रन बनाउँदा ७ विकेट गुमायो।
डुन्कले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने मार्कसले ३८ बलमा २ चौका र १ छक्का हिर्काए। त्यसपछि अन्तिममा जाम्पाले १७ रन बनाउँदा बाँकी कोही पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रेनेगाड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। उसका लागि टोम कुपर र डानियल क्रिस्टिइनले ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए।
उनीहरूबाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। स्टार्सका लागि ज्याक्सन बर्ड र जाम्पाले २-२ विकेट लिए।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्। उनले ४ ओभरमा १ चौकासहित १६ रन खर्चिए।
सन्दीपले आइतबार भएको फाइनललमा मेलबर्न रेनिगेड्सविरूद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चिए पनि कुनै विकेट लिएनन्।
आफ्नो पहिलो ओभरमा २ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा १ चौकासहित ५ रन खर्चिए।
आफ्नो तेस्रो ओभरमा ३ रन मात्र खर्चिए पनि विकेट लिन सकेनन्।
अन्तिम ओभरमा ६ रन खर्चिएसँगै सन्दीप बिग ब्यासको फाइनलमा पनि विकेट बिहिन भएका हुन्। यसअघि उनी सेमिफाइनलमा पनि विकेट बिहिन भएका थिए।
यो सँगै सन्दीयले बिग ब्यासमा ११ विकेट सँगै लिग सकाउने भएका हुन्।
सुरूवाती ४ खेलमा ८ विकेट लिएका उनले आफ्नो पाँचौ खेलमा कुनै विकेट लिन सकेनन्। लिगका लागि आफ्नो छैठौं खेलमा ३ विकेट लिएका उनले सेमिफाइनलमा विकेट बिहिन बनेका थिए।
सन्दीपले भारतको इण्डियन प्रिमियर लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग, वेस्टइण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल क्यानडा टी-२० जस्ता विदेशी फ्रेन्चाइजी लिग खेलिसकेका छन्।
सन्दीपले खेलेका विदेशी फ्रेन्चाइजी लिगमध्ये फाइनल खेल्न लागेको यो नै पहिलो पटक हो।
यसपछि सन्दीप युएई जानेछन्। त्यहाँ जारी पाकिस्तान सुपर लिगमा उनले क्लालान्दरबाट खेल्नेछन्।