आगामी चैत १ गतेदेखि विराटनगरमा दोस्रो महिला फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ।
नेपालको महिला क्रिकेटमा निजी लगानी भित्र्याउँदै एनसीएल स्पोर्टस प्रालिले दोस्रो महिला फ्रेन्चाइज लिग ‘एन सि एल वोमेन टि २० क्रिकेट लिग’ क्रिकेट गर्न लागेको हो।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बिहिबार पहिलो महिला च्याम्पियन्स लिग गर्ने घोषणा गरेको अर्को दिन नै एनसीएल स्पोर्टस प्रालिले अर्को फ्रेन्चाइज लिग गर्ने घोषणा गरेको हो।
एनसीएल महिला टी–२० क्रिकेट लिग नाम रहेको यो प्रतियोगिता चैत १ देखि ९ गतेसम्म विराटनगरस्थित वैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुनेछ।
लिगमा मुलुकका विभिन्न चार शहरका चार फ्रेन्चाइज टिमको सहभागिता हुनेछ। हरेक टिममा मार्क्यू प्लयेर्सहरु रहनेछन् भने खेलाडीहरु अक्सनमार्फत छनोट गरिनेछ।
पुरूषको क्रिकेटसँगै महिला क्रिकेटलाई पनि अघि बढाउनुपर्ने उद्देश्यका साथ एनसिएलले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड ‘एनसिएल वोमन्स टि २० क्रिकेट लिग’ आयोजना गर्न लागेको जानकारी आयोजक एनसिएल स्पोर्ट्स प्रा लिका प्रवन्ध निर्देशक जयराज रायले दिएका छन्।
राष्ट्रिय महिला क्रिकेट टिमका प्रशिक्षक बिनोद दासले महिला क्रिकेटलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना हुनु सुखद भएको भन्दै लगातार महिला फ्रेन्चाइज्ड क्रिकेट लिग हुनाले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए।
राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रूबिना क्षेत्रीले यस्तो खाले घरेलु प्रतियोगिताबाट महिला क्रिकेट खेलाडीलाई एक्स्पोजर मिल्ने बताइन्।