युएईमा बिहिबारदेखि सुरू भएको पाकिस्तान सुपर लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर क्वालान्दर्स उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन इस्लामावाद युनाइटेडसँग पराजित भएको छ।
युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहिबार राति भएको पहिलो खेलमा क्वालान्दर युनाइटेटसँग ५ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको क्वालान्दर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। उसका लागि फाखर जामानले सर्वाधिक ६५ रन बनाए। शोहिल अख्तरले ३७ रन बनाउँदा एबिडि भिलियर्सले २४ रन मात्र जोड्न सके। एन्टोन डेभिचले १४ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन्।
युनाइटेडका लागि फाहिम असरफले २ विकेट लिए।
१७२ रनको लक्ष्य पछ्याएको युनाइटेडले खेल सकिन ४ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टायो। उसका लागि हसन तलातले ३७, आसिफ अलिले ३६, लुक रोन्चीले २७ क्यामरन डेलपोर्टले २४ तथा फाहिम असरफले नटआउट २३ रन जोडे।
क्वालान्दार्सका लागि राहत अलिले ४ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यता बिग ब्यास लिग खेलिरहेका सन्दीप यतिबेला अष्ट्रेलियामा छन्। उनको टिम मेलबर्न स्टार्सले बिहिबारै भएको सेमिफाइनलमा घरेलु टोली होबर्ट हुरिक्यान्सलाई हराउँदै फाइनलमा पुगेको छ। अब सन्दीप आगामी फेब्रुअरी १७ तारिकमा हुने फाइनल पछि मात्र युएई जानेछन्। यसअघि युएईमा क्वालन्दर्सले ३ खेल खेलिसकेको हुनेछ।
यसअघिका संस्करणमा तालिकाको पुछारमा रहेर लिग टुंग्याएको क्वालन्दरले यसपाली केही आशा गरेको छ।
यस संस्करणका लागि सन्दीपसँगै क्लान्दर्सले दक्षिण अफ्रिकाका बिस्फोटक ब्याट्मेन एबिडि भिलियर्सलाई समेत राखेको छ।
लाहोर क्वालान्दर्सले न्यूनतम् ५० हजार डलरमा सन्दीपलाई खरिद गरेको थियो। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ।
सन्दीपले यसै वर्ष मात्र क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेलिसकेका छन्।
लाहोर क्वालान्दर्स क्लबमा धनाढ्य कतार लुब्रिक्रेन्ट्स कम्पनी लिमिटेडको स्वामित्व छ। यस टोलीको कप्तानी चर्चित क्रिकेटर एबी डिभिलियर्सले सम्हाली रहेका छन्।
चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ। यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ।
डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ।