अष्ट्रेलियामा जारी बिग ब्यास लिगको अन्तिम खेलमा अहिले नेपाली युवा सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सको सामना गर्दैछ।
अन्तिम लिग खेल हुँदैछ। यस खेलबाट सेमिफाइनल पुग्ने चौथो टिमको टुङ्गो लाग्नेछ।
मेलवर्न स्टार्सले सेमिफाइनलमा पुग्न आज सिड्नी सिक्सर्सविरूद्ध कुनै पनि हालतमा जित्नै पर्ने दबाब छ।
स्टार्सले आजको खेलमा सिड्नीलाई हराए शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाउनेछ। यसअघि ब्रिसवन हिटसँग १० विकेटले पराजित भएपछि स्टार्स अंकतालिकामा पाँचौ स्थानमा झरेको छ।
आजको खेलका लागि सिक्सर्सले ब्याट फ्लिप जितेर बलिङ रोजेपछि सन्दीपको टिम स्टार्सले पहिले ब्याटिङ गरिरहेको छ। यदी स्टार्स सिक्सर्ससँग पराजित भए चौथो स्थानमा रहेको ब्रिसवन हिट सेमिफाइनल पुग्नेछ।
लिगको सबै १४ खेलपछि हिट र सिड्नी थण्डरको समान १३ अंक भए पनि रनरेटका आधारमा हिट अगाडि छ।
थण्डरसँगै साविक विजेता एडेलेइड स्टारइकर्स र पर्थ स्कोर्चर्स भने लिगबाटै बाहिरिसकेका छन्।
सिक्सर्ससँगै होबार्ट हुरिकेन र मेलवर्न रेनेगाड्स सेमिफाइनल पुगिसकेका छन्।