न्यूजिल्याण्ड भ्रमणमा रहेको भारतले घरेलु टोलीसँग लज्जास्पद पराजय ब्यहोरेको छ। पाँच मध्ये तीन खेलमा पराजित हुँदै यसअघिनै सिरिज गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतमाथि ८ विकेटको सानदार जित निकाल्दै शृंखला ३–१ मा ल्याएको हो।
भारतले दिएको ९३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४.४ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ३०.५ ओभरमा ९२ रन बनाएर अल आउट भयो। नियमति कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीलाई आराम दिएको खेलमा भारतको कप्तानी रोहित शर्माले गरेका थिए।
भारतीय पारीलाई ध्वस्त पार्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका बोल्टले ४ ओभर मेडन राख्दै २१ रन खर्चिएका थिए।
भारतका लागि युजबेन्द्र चहलले सर्वाधिक १८ रन जोडेका थिए। हार्दिक पाण्ड्याले १६ रन बनाउँदा कुलदिप यादवले १५ रन जोडे। शिखर धवनले १३ रन बनाएका थिए । बाँकी खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन्।
भारतीय टोलीका कप्तान रोहित शर्मासहित शिखर धवन, शुभमन गिल, केदार जादब र हार्दिक पाण्ड्या बोल्टका सिकार भएका थिए। कोलिन डी ग्राण्डहोमले दिनेश कार्तिक, अम्वाती रायडू र भुवनेश्वर कुमारलाई पेभेलियन फर्काएका थिए। टोड स्टलले कुलदिपलाई आउट पारे। जेम्स निसमले खलिल अहमदलाई आउट गर्दै ९२ रनमा समेटे।
भारतले दिएको ९३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो। घरेलु टोलीलाई जिताउन हेनरी निकोलस र रस टेलेरले ५४ रनको साझेदारी गरेका थिए। टेलर ३७ तथा निकोलस ३० रनमा नट आउट रहे। मार्टिन गुप्तिलले १४ रन जोड्दा केन विलियम्सन ११ रनमा आउट भएका थिए।