नेपाल थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटमा उपविजेता बनेको छ।
थाइल्याण्डसँग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो।
शनिबार तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो। तर सो लक्ष्यलाई नेपालले पछ्याउन सकेन।
नेपाल १७ ओभर २ बलमा ५१ रन मै अलआउट भयो।
ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा १ रन बनाएर आउट भइन् भने लगत्तै ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन्।
पाँचौ ओभरमा प्रतियोगितामा उत्कृस्ट लयमा रहेकी सिता राना मगर पनि १३ रन ( १७ बलमा १ चौका ) बनाएर चनिडाको बलमा क्याच आउट हुन पुग्दा नेपाल ४.५ ओभरमा १५/३ को नाजुक अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने क्रम रोकिएन।
रोमा थापा २ रन, सरिता मगर ५ रन तथा कप्तान रुबिना क्षेत्री ५ रन बनाएर आउट हुँदा नेपालको माथिल्लो क्रम पेभेलियन फर्कियो।
नेरी थापा पनि १७ रन बनाएर आउट भइन्। नेरीको विकेटपछि करुना भण्डारी ४ रन तथा डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो।
नेपाल १२ वर्षपछि पहिलो पटक सिनियर महिला टोली उपाधि नजिक पुगेको थियो। तर, उपाधिका लागि थाइल्याण्ड त्यसको बाधक बन्न पुग्यो।
यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन।
सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।
यस्तै, महिला टि-२० विश्वकप छनोटको एसिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो।
यो टि-२० स्म्यास प्रतियोगिता आइसीसीको आधिकारिक प्रतियोगिता होइन।