अष्ट्रेलियाविरूद्धको तेस्रो तथा निर्णायक वान डे ७ विकेटले हराउँदै भारतले कीर्तिमानी जित निकालेको छ। ७१ वर्षपछि पहिलो पटक टेस्ट सिरीज जितेको भारतले वान डे श्रृंखला जितेसँगै भारतले एकै साथ अस्ट्रेलियन भूमिमा दोहोरो उपाधि जित्ने इतिहास बनाएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ४८.४ बलमा अल आउट हुँदे २३० रनमा समेटिएको थियो। २३१ रनको लक्ष्य पछ्याएको भारतले पूर्व कप्तान महेन्द्र सिंह धोनी र केदार जाधवको उत्कृष्ट अर्धसतकीय पारीले ४ बल बाँकी छँदै कीर्तिमानी जित निकाल्यो।
भारतको जितका यी पाँच खास कारण
१ युजवेन्द्र चहलको करियरकै उत्कृष्ट प्रदर्शन
यो खेलमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरेका भारतीय बलर युजवेन्द्र चहलले १० ओभरमा ४२ रन खर्चिएर ६ विकेट लिए।
चहलले खेलको २४औं ओभरमा उस्मान ख्वाजा र शेन मार्शको ७३ रनको साझेदारी तोड्दै दुबैलाई एकै ओभरमा पवेलियन फर्काए। यसपछि धरमराएको अष्ट्रेलिया खेलमा फर्कने मौका पाएन।
यसपछि पछिल्लो क्रममा जम्न सुरू गरेका अष्ट्रेलिया ब्याटस्मेनलाई पनि आउट गर्दै अष्ट्रेलायाको इनिङ्स ५० ओभरसम्म टिक्न सकेन।
२. भुवनेश्वर कुमारको सुरूवाती दबाब
भारतीय बलरहरूले अष्ट्रेलियालाई सुरूदेखिनै दबाबमा राखे। ओपनिङ ब्याट्मेन एवम् कप्तान एरोन फिन्च र एलेक्स क्यारीलाई आउट गर्दै भुवनेश्वर कुमारले सुरूवाती दबाब राख्यो। ८ ओभर बलिङ गरेका भुवनेश्वरकुमारले १ मेडनसहित २८ रन खर्चिएर २ विकेट लिए।
३. अस्ट्रेलियाको खराब फिल्डिङ
२३१ रनको लक्ष्यसहित मैदानमा आएको भारतलाई अष्ट्रेलियाको कमजोर फिल्डिङले साथ दियो।
खाता खोल्न नपाउँदै धोनीको सहज क्याच ग्लेन म्याक्सवेलले छोडेका थिए। यस्तै ७५ रनको व्यक्तिगत स्कोरमा रहेका धोनीले अर्को पटक जीवन दान पाएका थिए। अष्ट्रेलियाका कप्तान फिन्चले धोनीको अर्को सहज क्याच छोडेका थिए। यस्तै केही राम्रा रन आउटका मौकासमेत अष्ट्रेलियाले खेर फालेको थियो।
४. धोनीको निर्णायक अर्धसतक
अष्ट्रेलियाविरूद्धको तीन खेलको वान डे सिरिजमा तीनै खेलमा पूर्वकप्तान महेन्द्र सिंह धोनीले अर्धसतकीय पारी खेले।
मेलबर्नमा भएको अन्तिम तथा निर्णायक खेलमा धोनीले उत्कृष्ट अर्धसतकीय पारी खेले। यो सिरिजमा सबैभन्दा बढी रन बनाएका धोनीले चौथो विकेटका लागि केदार जाधवसँग १२१ रनको साझेदारीसमेत निभाएका थिए। केदारअघि धोनीले कप्तान कोहलीसँग ५४ रनको साझेदारी गरेका थिए। उनले ११४ बलमा ६ चौका प्रहार गरेका थिए।
धोनीले अष्ट्रेलियाविरूद्धको तीन वाड डे सिरिजमा लगातार तेस्रो अर्धसतक सन् २०१४ पछि शुक्रबार पुरा गरेका हुन्। धोनी तीन खेलमध्ये २ खेलमा नटआउट रहे। जुन खेलमा उनी आउट भए त्यही खेलमा भारत हार्यो। यो सँगै धोनीले तीन खेलबाट सबैभन्दा बढी १९३ रन बनाउँदै म्यान अफ दि सिरिज भए।
५. केदार जाधवको उत्कृष्ट अर्धसतक
खेलमा अन्तिमसम्म महेन्द्र सिंह धोनीलाई साथ दिएका केदार जाधवले उत्कृष्ट अर्धसतक बनाए। ५७ बल खेलेका जाधबले ७ चौकासहित ६१ रन बनाए। ५२ बलमा हाफ सेन्चुरी पुर्याएका जाधबले संवेदनशील पारी खेल्दै टोलीलाई जिताउन महत्वपूर्ण भूमिका निभाए।