भारतले अस्ट्रेलियालाई ७ विकेटले हराउँदै नयाँ इतिहास रचेको छ।
मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा निर्णायक वान डेमा अष्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य भारतले ४ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा गर्यो।
यो जितसँगै भारतले नयाँ कीर्तिमान बनाएको छ।
यसअघि ७१ वर्षपछि पहिलो पटक टेस्ट सिरीज जितेको भारतले वान डे श्रृंखला जितेसँगै एकै साथ अस्ट्रेलियन भूमिमा दोहोरो उपाधि जित्ने इतिहास बनाएको हो।
पछिल्लो समय खराब लयमा रहेको अष्ट्रेलिया २०१७ यता कुनै वान डे सिरीज जितेको छैन। पछिल्ला १६ वान डे खेलमा अस्ट्रेलियाले ३ मा मात्र जित निकालेको छ।
सन् १९८५ मा सुनील गावस्करको कप्तानीमा भारतले पहिलो पटक अस्ट्रेलियामा वानडे सिरिज जितेको थियो। जसमा रवि शास्त्री म्यान अफ द सिरीज भएका थिए।
यसपछि सन् २००८ मा भारले महेन्द्र सिंह धोनीको कप्तानीमा सिपी ट्राई सिरीज जितेको थियो। त्यसपछि सन् २०१९ मा धोनीकै शानदार प्रदर्शनमा भारतले अष्ट्रेलियाको भूमिमा तेस्रो पटक सिरिज जितेको छ।
पहिलो खेलमा ३४ रनले पराजित भएको भारत दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। यो सँगै तीन वान डे को श्रृंखला भारतले २-१ले आफ्नो पक्षमा पारेको हो।
भारतको जितमा महेन्द्र सिंह धोनीले अविजित ८७ रन जोड्दा केदार जादबले अविजित ६१ रनको अर्धशतकीय इनिङस खेले। कप्तान विराट कोहली ४६ रन बनाएर आउट भएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ४ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । अष्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्पले ५८ रन जोडे । यस्तै शन मार्शले ३९ तथा उस्मान ख्वाजाले ३४ रन बनाए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतका लागि युजभेन्द्र चाहल एक्लैले ६ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र मोहमद सामीले २/२ विकेट लिए ।