थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यासको फाइनल प्रवेशको लागि नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको हो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्।
यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन्।
ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्।
कप्तान रूविना २ रनमा नटआउट रहिन्।
समूह चरणका सबै चार वटै खेलमा जित निकालेको नेपालले समूह बी को उपविजेता इन्डोनेसियासँग खेलिरहेको हो।
समुह चरणमा इन्डोनेसियाले खेलेका चारमध्ये तीनमा जित र एकमा हार ब्यहोरेको थियो।
समुह चरणमा नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराउँदा दोस्रो खेलमा मलेसिया ४ विकेटले पराजित भएको थियो।
तेस्रो खेलमा उपाधिको दाबेदार युएईलाई ६ विकेटले पन्छाएको नेपालले समूहको अन्तिम खेलमा आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गर्दै सतप्रतिशत जित निकालेको थियो।
आजको खेलमा पनि नेपालको टिममा कुनै परिवर्तन भएको छैन। जारी प्रतियोगिता ब्याटिङ र बलिङमा बलियो देखिएको नेपालले इन्डोनेसियालाई पराजित गरे पहिलो पटक सिनीयर महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।
यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको छैन।
सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।
यस्तै महिला टी-२० विश्वकप छनोटको एशिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो।
करीव १२ वर्षको अन्तराष्ट्रिय यात्रामा नेपालले पहिलो पटक फाइनलमा पुग्ने मौका हुनेछ।
यद्यपी ट्वान्टी-२० स्म्यास प्रतियोगिता आईसीसीको आधिकारिक प्रतियोगिता होइन। फागुनमा थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगितामा सहभागिता जनाइरहेको हो।