थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ।
आइतबार मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो।
पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १७ औं ओभरमा पूरा गर्यो।
नेपालका लागि रोमा थापाले सर्वाधिक २० रन बनाउँदा ओपनर सिता रानामगर १५ रन जोडिन्। काजल श्रेष्ठले ६ रन जोडेर आउट भइन् भने इन्दु वर्माले ३ रन तथा सरिता मगरले खाता नखोल्दै रनआउट भइन्। नेपालका लागि ममता कुमारी चौधरी ९ रनमा नटआउट रहिन्।
मलेसियाका लागि इन्तान जफार र ऐना हसिमले १-१ विकेट लिएका थिए।
यसअघि तेर्थाई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया १९.३ ओभरमा अल आउट हुँदै ६१ रनमा समेटियो। मलेसियाका लागि युसिरिना यकोपले ११, सोलो टिजीन यी १२, मेस एलियसा एसमिन र विनिफ्रेड डुराईसिंगमले समान ९-९ रन जोडे। क्रिस्टीना नीना बारेट र इन्टन जाफरले समान ४ रन बटुलेका थिए।
नेपालका लागि सरिता मगरले सरिताले ३.३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन्। त्यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुँवरले समान एक-एक विकेट हात पारे।
नेपालले प्रतियोगिताको पहिलो खेलमा शनिबार चीनलाई १० विकेटले हराएको थियो।