अन्तिम जित निकाल्दै ललितपुर प्याट्रियट्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार टियु क्रिकेट मैदानमा काठमाडौं किङ्स इलाभेनलाई १ विकेटले हराउँदै ललितपुर उपाधि नजिक पुगेको हो।
काठमाडौंले दिएको १०८ रनको सामान्य लक्ष्य ललितपुरले अन्तिम बलमा ९ विकेट गुमाएर पुरा गरेको थियो।
अन्तिम ओभरमा ललितपुरलाई जितका ९ रन आवश्यक रहेको बेला योगेन्द्र सिंह कार्कीले उत्कृष्ट ब्याटिङ गर्दै अन्तिम चार बलमा २/२ रन जोड्दै ललितपुरलाई जित दिलाए।
ललितपुरका लागि कुशल भुर्तेलले २९, योगेन्द्र सिंह कार्कीले नटआउट २८ कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा पवन सरार्फले १९ रन जोडेका थिए। बाँकी कोही पनि ब्याट्मेनले दोहोरो रनको स्कोर छुन सकेनन्। ललितपुरका तीन जना खेलाडी शून्यमा आउट भएका थिए।
काठमाडौंका लागि प्रदिप साहुले ३ विकेट लिँदा केबिन ओब्राइम र रोहन मुस्ताफाले समान २-२ विकेट लिए पनि काठमाडौंलाई जिताउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोडेको थियो।
काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोड्दा सागर पुनले २९ रन जोडेका थिए। सिद्धान्त लोहनी १६ रन बनाएका थिए।
काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले ३/३ विकेट लिएका थिए। सन्नी पटेलले २ विकेट लिएका थिए।
यो सँगै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर उपाधि नजिक पुगेको छ।
यसअघि समूह चरणका पाँच खेलबाट ८ अंक जोडेको ललितपुरले पहिलो खेल गुमाए पनि लगातार चार खेल जितेको थियो। र, क्वालिफायरमा पनि जित निकाल्दै उपाधि नजिक पुगेको हो।
ईपीएलको नियम अनुसार शीर्ष दुईमा रहेर पराजित टोली काठमाडौंले पुनः फाइनल प्रवेशका लागि मौका पाउनेछ। उसले अब दोस्रो क्वालिफायरमा भैरहवा र चितवनबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउने छ ।
बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ।