राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै ललितपुर पेट्रियट्स क्वालिफायर खेल्ने भएको छ।
९३ रनको सामान्य लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। ललितपुरको जितमा पवन शरार्फले २५, जयकिशन कोल्सावालाले २२ तथा सन्दिप झोराले १८ रन बनाए।
भैरहवाका लागि डच खेलाडी रायन टेन डोसेचेले २ तथा कप्तान शरद भेसवाकर र मोहम्मद नाभिदले १-१ विकेट लिए पनि हार टार्न सकेनन्।
यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवा १९ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो।
कमजोर सुरूवात गरेको भैरहवाले ५ रन बनाउँदा महत्वपूर्ण दुई विकेट गुमाएको थियो।
उसका ओपनर मोहम्मद नाभिद र प्रदिप ऐरी मात्र दुई-दुई रन बनाएर आउट भएका थिए। त्यसपछि रविइन्दर सिंह र कप्तान शरद भेषवाकर पनि सस्तैमा आउट भएपछि भैरहवाले ४० रन बनाउँदा चार विकेट खेर फाल्यो।
रवीइन्दर २५ रनमा पेभेलियन फर्किँदा शरद मात्र एक रनमा आउट भए।
त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि चार रन बनाएर आउट भएपछि भैरहवाले ४९ रनमा पाँचौ विकेट गुमायो।
त्यसपछि ४३ रन बनाउँदा बाँकी सबै विकेट गुमाएको थियो।
भैरहवालाई कम स्कोरमा रोक्न ललितपुरका सन्नी पटेलले ५ विकेट लिँदा रासिद खान र योगेन्द्रसिंह कार्कीले दुई-दुई विकेट लिएका थिए।
यो जितसँगै ललितपुरले क्वालिफायर्सको यात्रा पक्का गर्यो। जारी प्रतियोगितामा ५ मध्ये ४ खेल जितेको ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा कायमै छ।
अब ललितपुरले क्वालिफायरमा विजयी भए सिधै फाइनल खेल्नेछ। पराजित भए पुनः एलिमिनेटर खेल्न पाउनेछ।
ललितपुरले दोस्रो स्थानमा हुने भैरहवा वा विराटनगर र काठमाडौंबीचको बिजेतासँग क्वालिफायर खेल्नेछ।