तिब्र गतिका बलर लासिथ मालिंगा श्रीलंकाको एकदिवसीय र टी –२० क्रिकेटको कप्तान बनेका छन् ।
करिब एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका मालिंगालाई श्रीलंकन् क्रिकेट बोर्डले टिमको नेतृत्व दिएको हो।
३५ वर्षे मालिंगालाई कप्तानको जिम्मेवारी दिँदा विकेटकिपर ब्याट्सम्यान डिकवेलालाई उपकप्तान बनाइएको छ।
आसन्न न्यूजील्याण्डविरुद्धको टी ट्वान्टी र एकदिवसीय क्रिकेटका लागि श्रीलंकन टिममा एन्जेलो म्याथ्यूज, सीकुगे प्रसन्ना तथा असेला गुणरत्नेजस्ता खेलाडी अटाएका छन्।
यसैगरी कुशल परेरा, दिनेश चण्डीमल, कुशल मेन्डिस, धनंजया डीसिल्वा, तिषारा परेरा, शनाका, सान्दक, चमीरा, कासुन रजिथा, नोवा प्रदीप तथा लाहिरू कुमारा रहेका छन् ।
अहिले न्यूजील्याण्डमा टेस्ट क्रिकेट खेलिरहेको श्रीलंकाली टिमले जनवरी ३ मा पहिलो एकदिवसीय क्रिकेट खेल्नेछ। त्यहाँ ३ वटा एकदिवसीय र एउटा टी–२० हुनेछ। त्यसका लागि श्रीलंका टोलीको नेतृत्व मालिङ्गालाई दिएको हो।