राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगको शनिबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ।
चितवनले पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३० रनको लक्ष्य चितवनले १९ ओभरमामात्र ३ विकेट गुमाएर पूरा गर्यो।
चितवनको जितमा पाउल स्टर्लिङले ५५ रनको अर्ध शतकीय इनिङस खेले। दिपेन्द्र सिंह ऐरीले पनि ५४ रनको अर्ध शतकीय इनिङस खेले। पोखराका नन्दन यादवले २ विकेट र सुशन भारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाएर १२९ रन बनाएको थियो।
सुनील धमलाले ५१ रनको अर्ध शतकीय इनिङस खेलेका थिए। यस्तै विनोद भण्डारी २७ रन जोड्दा कप्तान कायल कोएट्जरले २३ रन जोडे। राजेश पुलामी मगर १२ रनमा आउट भए। चितवनका जर्ज स्कटले ३ तथा ललित सिंह भण्डारीले २ विकेट लिए।
चितवनले ५ खेलबाट ४ अंक जोडेको छ । जितपछि चितवनले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।