चितवन टाइगर्सले राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले हराउँदै चितवनले रोमाञ्चक जित निकालेको हो।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चितवनले दिएको १९६ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रनमा समेटिएको थियो।
१९७ रनको लक्ष्यसहित मैदानमा आएको विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले बिस्फोटक ब्याटिङ गर्दै ४२ बलमा ९० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। बाबरले ८ छक्का र ५ चौका प्रहार गरेका थिए।
ओपनर पारस खड्कालाई १९ रनमा गुमाएको विराटनगरले त्यसपछि अनिल शाहलाई १२ रनमा गुमायो।
तेस्रो विकेटका लागि बाबर हायातसँग ८३ रनको साझेदारी गरेका आसिफ शेख ३० रनमा आउट भएपछि विराटनगरको पारी धरमराएको थियो।
त्यसपछि क्रिजमा आएका रे भान डेर मेर्वीले खाता खोल्न पाएनन्। त्यसपछि बाबर हायात ब्यक्तिगत ९० रनमा आउँट हुँदा उसको टिमको स्कोर १ सय ६१ रन थियो।
बाँकी ३० रन बनाउँदा ५ विकेट खेर फालेपछि आएका अन्तिममा करण केसीले २४ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन्।
बलिङमा ललित भण्डारीले चार तथा सागर ढकालले तीन विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो। चितवनका लागि जोन सिम्सनले ७८ रन बनाउँदै उत्कृष्ट अर्धसतकीय पारी खेलेका थिए। ४४ बल खेलेका उनले ५ छक्का र ४ चौका प्रहार गरे।
ओपनर सन्दीप सुनारले ३० रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३२ रन बनाए। पउल स्ट्रलिङ १५ रनमा पेभेलियन फर्किए पनि जर्ज स्कटले १० बलमा २४ रन बनाउँदै इनिङ्स उकासे।
यो जितसँगै लगातार तेस्रो खेलमा हार व्यहोरेको चितवनको दोस्रो चरण प्रवेश सम्भावना कायमै छ। यता आजको हारले विराटनगरलाई अन्तिम खेलमा जित्नैपर्ने दबाव बढेको छ।
लिगमा समान ४-४ खेल खेलेका विराटनगरको ४ अंक तथा चितवनको २ अंक छ।