ललितपुर पेट्रियट्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगको प्ले अफमा पुगेको छ।
लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा काठमाडौं किङ्सलाई १० विकेटले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लदै प्लेअफमा पुगेको हो।
काठमाडौं किंग्सले दिएको ११० रनको सामान्य लक्ष्य ललितपुरले मात्र बिना कुनै विकेटको क्षतिमा १०.३ ओभरमा पुरा गर्यो।
ललितपुरको जितमा भारतीय खेलाडी गौरभ तोमरले बिस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेले। २५ बलमा अर्धसतक बनाएका उनले ३५ बल खेल्दै ५ छक्का र ९ चौका प्रहार गर्दै ८० रनमा नटआउट रहे।
ललितपुरका अर्का ओपनर भारतीय खेलाडी जयकिशन कोल्सावालाले २८ बलमा २७ रन बनाए।
यसअघि कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित अन्तिम बल बाँकी छँदै अलआउट भएर १०९ रन मात्र बनाउन सक्यो।
काठमाडौंका लागि कप्तान ओब्राइनले ४२ तथा सिद्धान्त लोहनीले २१ रन बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन्।
१३ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाएको काठमाडौंले ओपनर अमित श्रेष्ठलाई ६ रनमा गुमाउँदा सागर पुनले खाता खोल्न सकेनन्।
लगत्तै नरेश बुढाऐर शून्यमा आउँट हुँदा राजु रिजालले ८ रन जोडे। सुब्रमनियम आनन्दले नौ रन बनाउँदा प्रविन साहुले खाता खोल्न पाएनन्। शंसद शेखले १० रन मात्र बनाउन सके।
बलिङमा पवन सरार्फले तीन तथा रासिद खान र योगेन्द्र कार्कीले दुई-दुई विकेट लिएका थिए।
यो सँगै ललितपुर ४ खेलबाट ३ जितसहित ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ।
यसअघि आजै भएको पहिलो खेलमा विराटनगरलाई हराउँदै सतप्रतिशत जित निकालेको भैरहवा प्लेअफमा पुगिसकेको छ।