काठमाडौं, राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवनले भैरहवा ग्लाडियटर्सको १४४ रनको लक्ष्य पछ्याइरहेको छ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै भैरहवाले १९.३ ओभरमा अलआउट हुँदै १४३ रन बनायो।
यसअघि आफ्नो पहिलो खेलमा पोखराले दिएको २ सय १६ रनको बिशाल लक्ष्य पक्ष्याएको भैरहवाले आज मध्यम स्कोरमा समेटियो।
भैरहवाका लागि रायन टेन डेसकाटेले ३५ रन जोड्दा प्रदीप सिंह ऐरीले २६ रन जोडे। यस्तै रबी इन्दर सिंहले २५ रन जोड्दा आरिफ शेखले १८ रन बनाएका थिए।
कुशल मल्लले ३ रन बनाउँदा कप्तान शरद भेषवाकर एक रनमा रनआउट भए।
पाँचौ विकेटका लागि आरिफ शेख र रायन टेन डोच्टेले ३३ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए।
पुनित मेहरा १२ रनमा आउट हुँदा रोहित पौडेलले चार रन जोडे।
बलिङ तर्फ सागर ढकालले तीन तथा जर्ज स्कटले दुई विकेट लिएका थिए।
साबिकको उपविजेतासमेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो। चितवन भने पहिलो जितको खोजीमा हुनेछ। अघिल्ला दुई खेल गुमाएको चितवनलाई भैरहवाविरुद्ध जित्नैपर्ने बाध्यता छ। भैरहवाविरुद्धको खेल गुमाए चितवनको दोस्रो चरणको यात्रा गणितीय मात्र बाँकी रहेनेछ।
चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौंसँग पराजित भएको थियो ।