राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा मैदान बाहिर बसेर एक हातले बल क्याच गरेका सरून भट्टले नगद ५० हजार पुरस्कारपाएका छन्।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको इपिएलमा दर्शकदिर्घामा बसेर मैदानबाट आएको बल एक हातले क्याच गरेका भट्टले उक्त पुरस्कार पाएका हुन्।
भट्टले आइतबार दक्षिण अफ्रिकाका विष्फोटक ब्याट्म्यान रिचर्ड लेभीले छक्का प्रहार गरेको बल क्याच गरेका थिए।
पोखरा राइनोजका लेभीले भैरहवा ग्लाडिएटर्स विरुद्धको खेलमा छक्का प्रहार गरेको बल भट्टले एक हातले क्याच गरेपछि आयोजकको नियमअनुसार उनले एक हाते क्याचको दावी गरे। तर आयोजकले आइतवार भट्टले लिएको क्याच एक हातले हो कि होइन भनेर पुरस्कार दिएको थिएन। यद्यपी सोमबार भिडियो फुटेजबाट प्रमाणित भएपछि उनले ५० हजार पाएका हुन्।
इपीएल २०१८ मा आयोजकले नयाँ आकर्षणको रुपमा मैदानबाट खेलाडीले छक्का हानेको बल एक हातले क्याच गर्नेलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। यसको प्रायोजन एक्सपर्ट भिजा सर्भिसले प्रायोजन गरेको छ।
पुरस्कार लिँदै भट्टले क्याच लिन भन्दा पनि आफू खेल हेर्न भनेर यहाँ आएको तर क्याच लिन सफल भएकोमा खुसी लागेको बताए।