युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिगमा नेपाली युवा बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्।
लिग अन्तर्गत सन्दीप लामिछाने रहेको टिम केरला किङसले पख्तुनसँग प्रतिस्पर्धा गरिरहेको छ।
केरलाबाट पहिलो खेलमै मैदान उत्रन पाएका सन्दीपले महत्वपूर्ण ३ विकेट लिएका छन्।
लेग स्पिनर सन्दीपले एकै ओभरमा दुईसहित ३ विकेट लिएका हुन्। पहिलो बलमै विकेट लिएका सन्दीपले ओभरको अन्तिम बलमा समेत विकेट लिएका थिए।
चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियनको बाटो देखाए। फ्लेचर ३२ रनमा आउट भए। त्यसपछि चौथो ओभरको अन्तिम बलमा सन्दिपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे।
यस्तै छैटौं ओभरमा बलिङ गर्न आएका सन्दीपले चौथो बलमा मुहमद कलिमलाई शून्य रनमा आउट गर्दै टोलीका लागि तेस्रो सफलता दिलाए।
डिफेन्डिङ च्याम्पियनसमेत रहेको सन्दीपको टिम टिम इयान मोर्गनको कप्तानीमा मैदान उत्रिएको छ। टिममा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडीहरुको साथ रहेको छ।
टी–१० लिग खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइतबार युएई गएका थिए।
सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।
सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् ।
लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।
इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए।
इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय लिग खेल्न सुरू गरेका सन्दिपले पछिल्लो एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।
त्यस्तै सन्दीपको अष्ट्रेलियाको विश्व चर्चित बीग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा समेत अनुबन्ध भईसकेका छन्। उनलाई दिल्लीले पुनः आइपिएलको आगामी संस्करण खेल्ने टिममा राखिसकेको छ।