यूएईमा क्रिकेटकै छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिग बुधबारबाट सुरु हुँदैछ।
लिगको उद्घाटन खेलमा नेपाली समय अनुसार राति ८: १५ बजे राजपुत र सिन्धिसबीच प्रतिस्पर्धा हुनेछ।
लिग अन्तर्गत आजै हुने दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछाने सम्मिलित टिम केरला किङसले प्रतिस्पर्धा गर्दैछ। डिफेन्डिङ च्याम्पियनसमेत रहेको सन्दीपको टिमले आज पाकटुनसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ।
खेल नेपाली समय अनुसार राति १०:३० बाट शारजाह क्रिकेट स्टेडियमा सुरू हुनेछ।
टी–१० लिग खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइतबार युएई गएका थिए।
सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो। सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् ।
यस्तै पख्तुनको कप्तानी पाकिस्तानका पूर्वकप्तान तथा विस्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीले गर्नेछन्।
लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।
इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए।
इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय लिग खेल्न सुरू गरेका सन्दिपले पछिल्लो एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।
त्यस्तै सन्दीपको अष्ट्रेलियाको विश्व चर्चित बीग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा समेत अनुबन्ध भईसकेका छन्। उनलाई दिल्लीले पुनः आइपिएलको आगामी संस्करण खेल्ने टिममा राखिसकेको छ।