भारतले वेष्टइन्डिजसँगको पहिलो एक दिवसीय क्रिकेटमा सहज जित निकालेको छ।
वेष्ट इण्डिजले प्रस्तुत गरेको ३२३ रनको लक्ष्य पछ्याएको भारतले ४२.१ ओभरमा २ विकेट गुमाउँदै सजिलै भेट्टाएको हो।
गुहाटीको बर्सपारा रंगशालामा भारतले टस जितेर वेष्टइन्डिजलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो।
पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा वेष्ट इण्डिजले ८ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। उसका लागि शिम्रोन हेत्मेयरले सर्वाधिक १०६ रन बनाएका थिए भने कायरन पोवेलले ५१ रनको योगदान दिएका थिए।
कप्तान जोशन होल्डरले ३८ रन बनाउँदा विकेट किपर साही होपले ३२ रन जोडे।
बलिङतर्फ भारतका यूज्वेन्द्र चाहलले ३ तथा रविन्द्र जडेजा र मोहम्मद शामीले समान २–२ विकेट लिए ।
३२३ को लक्ष्य पछ्याएको भारतले ओपनर शिखर धवनलार्इ सस्तै (४) मा गुमाएको थियो। त्यसपछि अर्का ओपनर रोहित शर्मालार्इ साथ दिन आएका कप्तान विराट कोहलीले शर्मासँग २४६ रनको साझेदारी गरे। १०६ बल खेल्दै १४० रन बनाएका कोहली खेलको ३३औं ओभरको अन्तिम बलमा आउट भए।
त्यसपछि आएका अम्बाती रायडुले शर्मासँग ७० रनको साझेदारी गर्दै भारतलाई सहज जित दिलाए।
खेलको अन्त्यसम्म टिकेका ओपनर शर्माले अविजित १५२ रन बनाए। ११७ बल खेलेका उनले १५ चौका र ८ छक्का प्रहार गरेका थिए।
बलिङतर्फ देवेद्र बिशू र ओशाने थोमसले १-१ विकेट लिएका थिए।