युएईमा शुक्रबार सम्पन्न एसिया कप क्रिकेट अन्तरगतको सुपर ४ चरणमा पाकिस्तान र अफगानिस्तानबिच भएको खेलमा पाकिस्तानले संघर्षपूर्ण जित हासिल गरेको छ। पाकिस्तानले जीतका लागि अन्तिम ओभरसम्म कुर्नुपर्यो।
उसले अफगानिस्तानलाई ३ विकेटले हरायो। पहिले ब्याटिङका लागि मैदान उत्रिएको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रनको योगफल तयार गरेको थियो।
सो खेलमा अफगानिस्तानका सुरूवाती दुई ब्याट्सम्यानहरू महमद सहजाद तथा इहसनुल्लाह सस्तैमा आउट हुनपुगेका थिए। उनीहरूले क्रमश: २० र १० रन मात्र जोड्न सके। तेश्रो व्याट्सम्यानको रूपमा मैदान छिरेका रहमत शाहले ५१ बल खर्चेर ३६ रन बनाए।
चौथो विकेटका लागि अस्गर अफ्घानी र हस्मतुल्लाह शाहिदीले ९४ रनको साझेदारी गरे जसमा कप्तान अस्गर ५६ बलमा २ चौका र ५ छक्कासहित ६७ रन जोडे। उनी शाहिन अफ्रिदीको बलमा बोल्ड भए ।
सो साझेदारीमा हस्मतुल्लाह सेन्चुरी बनाउन मात्र ३ रनले चुके। उनी ९७ रन नटआउट रहे ।
उनले १ सय १८ बलमा ७ चौका प्रहार गरेका थिए ।
त्यस्तै शाहिदीले अन्तिम ओभरमा ३ चौका प्रहार गर्दा गुल्बदीन नाइबले ७ बलमा नटआउट १० रन जोडे ।
पाकिस्तानका लागि मोअहमद नवाजले सर्वाधिक ३ विकेट लिए भने युवा बलर शाहिन अफ्रिदीले २ विकेट तथा हसन अलीले १ विकेट झारेका थिए ।
जवाफी ब्याटिङका लागि मैदानमा उत्रेको पाकिस्तानको जीतमा शोएब मल्लिकको योगदान महत्वपूर्ण रह्यो। म्यान अफ दि म्याच घोषित उनले ३ चौका र १ छक्का प्रहार गर्दै ४३ बलमा नटआउट ५१ रन बनाए। मलिकले ५ बलमा १० रन आवश्यक पर्दा छक्का र चौका प्रहार गर्दै जित दिलाएका थिए ।
सो खेलमा पाकिस्तानले आफ्ना ओपनर फखर जमानलाई पहिलो ओभरमै शुन्य रनमा गुमाएको थियो। उनी मुजिबको बलमा आउट भए ।
उनी पछि मैदानमा आएका इमाम उल हक र बाबर आजमले १ सय ५४ रनको महत्वपूर्ण साझेदारी गरे ।
इमामले १ सय ४ बलमा ५ चौका र १ छक्कासहित ८० रन जोडे भने बाबरले ९४ बलमा ४ चौका र १ छक्कसहित ६६ रन जोड्दै स्टम्पिङ आउट भए ।
अफगानिस्तानका रशिद खानले ३ विकेट लिंदा मुजिब उर रहमानले २ तथा गुल्बदीनले १ विकेट हात पारे ।