मलेसियामा सम्पन्न एसिया कप छनोटमा युएईलाई हराउँदै हङकङ एसिया कपका लागि छनोट भएको छ।
बिहिबार मलेसियाको किनरारा ओभल मैदानमा युएईले दिएको १७७ रनको लक्ष्य तीन बल अगावै पुरा गर्दै हङहङ युएईमा आगामी महिना हुने एसिया कपका लागि छानिएको हो।
हङकङले अब एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।
वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २४ ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
उसका लागि अस्फाग अहमदले सर्वाधिक ७९ रन जोडेका थिए। ५१ बल खेलेका उनले ६ छक्का र ९ चौका प्रहार गरेका थिए।
हङहङका ऐजाज खानले ५ विकेट लिएका थिए।
१७७ रनको लक्ष्य पछ्याएको हङकङले २३.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि निजाकात खानले ३८, क्रिस्टोफर कार्टरले ३३, इसान खान २९, अंशुमान रथले २८ रन जोडेका थिए।
युएईका मोहम्मद नाबिदले २ विकेट लिएका थिए।
यो जितसँगै हङकङले एसिया कप खेल्ने मौका पाएको छ। युएईमा हुने एसिया कपको समूह एम हङकङले भारत र पाकिस्तानसँग समूहचरणको खेल खेल्नेछ।
प्रतियोगितामा सहभागी भएको नेपालले खेलेका ५ मध्ये ३ खेल हारेको थियो।