वेस्ट इन्डिजमा जारी क्यारेविन प्रिमियर लिग (सीपिएल) खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै एसिया कप छनोटका लागि मलेसिया जाने भएका छन्।
यता श्रीलंकामा अन्तिम तयारी गर्दै नेपाली क्रिकेट टोली मलेसिया पुग्नेछ। पारस खड्काको कप्तानीमा रहेको टोली सोमबार श्रीलंका प्रस्थान गरिसकेको छ।
नेदरल्यान्डविरुद्ध एक दिवसीय सिरिज पछि सन्दीप त्यहीबाटै वेस्टइन्डिज गएका थिए।
सन्दीपले सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेलिरहेका छन्। सीपिएलमा उनले अहिलेसम्म खेलेका ३ खेलबाट ५ विकेट लिइसकेका छन्। अब दुई खेल खेलेर उनी भदौ १२ गते मलेसिया पुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर रमण सिवाकोटीले जानकारी दिए।
सन्दिपले सीपिएलमा भोलि बिहान नेपाली समय अनुसार ३: ४५ बजेदेखि हुने लिगको चौथो र भदौ १० गते बिहान १:४५ बजे पाँचौ खेल खेलेर उनी मलेसिया जाने भएका हुन्।
यस्तै टिमले उनको सट्टामा अगस्ट २६ पछीको खेलको लागि रस्सी भान डेर दुस्सेनलाई टिममा बोलाएको छ।
यदि मलेसियामा नेपाल छनोट खेल खेलिसकेपछि उनको टिम प्लेअफमा पुगे उनी पुनः मलेलियाबाट वेष्टइन्डिज फर्कनेछन्।
फेब्रुअरीमा आयोजना भएको अक्सनका क्रममा सन्दिपलाई सेन्ट किट्ले पाँच हजार डलरमा आफ्नो टोलीमा समावेश गरेको थियो । उक्त टोलीमा वेष्ट इन्डिजका आक्रमक ओपनर क्रिस गेल कप्तान रहेका छन्।