प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई विदाइ गरेका छन्।
सभामुख महराले सोमबार बिहान सरकारी निवास बालुवाटारमा आमन्त्रण गरी मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर विदाइ गरेका हुन्। त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरूलाई अग्रिम शुभकामना दिए।
यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनोट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे। उनले क्रिकेट खेललाई अझै सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए।
टोली मलेसिया प्रस्थान गर्नु अघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ।
नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन्। त्यसैगरी, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुभाष खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन्।
श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा भदौ १२ गतेदेखि एसीसी छनोट कप प्रतियोगिता हुँदैछ।
प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएइको सामना गर्नेछ। ६ टिम सहभागी खेलमा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएइमा हुने एसिया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।