क्रिकेटर शक्ति गौचनले सन्यास घोषणा गरेका छन्।
दायाँ हाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनको नेपालले नेदरल्यान्डसँग खेल्ने पहिलो एक दिवसीय खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका हुन्।
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गौचनले नेदरल्याण्ड टूरपछि राष्ट्रिय टिममा छनोट नहुने गरी सन्यास लिन लागेको जानकारी दिए।
'नेपालमा हुने कुनै अन्तर्राष्ट्रिय म्याच पारेर उहाँलाई विदाइ दिन सकिन्छ,' पारसले भने, 'अहिलेको टूर नै उहाँको अन्तिम टुर हो।'
यसैबीच सन्यासको घोषणा गर्दै गौचनले नेदरल्याण्डको भ्रमण आफ्नो अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुने स्पष्ट पारे। ‘विदेशमा हुने यो मेरो अन्तिम खेल हो। मैले पूर्ण रूपमा सन्यासको घोषणा गरेको छु,’ उनले भने, ‘घरेलु भूमिमा नेपालबाट अन्तिम खेल खेल्नेछु।’
सन् २००२ मा ओमानविरुद्ध खेल्दै गौचनले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन्। ९ अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेका गौचनले ८ विकेट लिएका छन्। यस्तै लिस्ट एबाट १८ विकेट लिएका थिए।