आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत सोमबार नेपालले केन्याको सामना गर्दैछ। पाँच पटक एक दिवसीय विश्वकप खेलेर सेमिफाइनलसम्म पुगिसकेको केन्याविरूद्ध आज नेपाली टोलीले दिउँसो सवा १ बजे नामिबियाको वन्डरर्स मैदानमा खेल्दैछ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपालसँगै रेलिगेट भएर केन्या डिभिजन–२ मा पुगेको हो। डिभिजन–२ मा यसअघि खेलेका दुबै खेल गुमँएइसकेको केन्या जीत विहिन अवस्थामा तालिकाको पुछारमा छ।
केन्या तेस्रो खेल खेल्दैछ भने नेपाल आफ्नो चौथो खेल खेल्दैछ। राजधानी विन्डहकमा हुने केन्या विरुद्धको खेलमा जित हात पार्न सके नेपालको विश्व कप छनोट खेल्ने सम्भावना थप बलियो हुनेछ।
इतिहास हेर्ने हो भने केन्या निकै बलियो छ। सन् २०१४ मा विश्वकप छनोट प्रतियोगिताको अभ्यास म्याचमा नेपाल र केन्या पहिलो पटक आमने सामने भएका थिए। जुन खेलमा केन्या एक विकेटले विजयी भएको थियो।
२०१५ को डिभिजन–२ मा नेपाल र केन्या दुई पटक खेलेका थिए। लिग चरणमा नेपाल ५ विकेटले पराजित भएको थियो भने तेस्रो स्थानको प्लेअफमा केन्याले १५ रनको जित हात पारेको थियो।
त्यसपछि नेपाल र केन्या आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा एकअर्का विरुद्ध उत्रिएका थिए।
करिब एक बर्ष अघि टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा केन्या पाँच विकेटले विजयी भयो भने दोस्रो खेलमा नेपालले ७ विकेटको जित हात पार्यो।
हेड टु हेडसन् २०१४- विश्वकप छनोट प्रतियोगिताको अभ्यास- केन्या १ विकेटले विजयीसन् २०१५ डिभिजन–२ लिग चरण- नेपाल ५ विकेटले विजयीसन् २०१५ डिभिजन -२ तेस्रो स्थान प्ले अफ- केन्या १५ रनले विजयीसन् २०१७- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप काठमाडौं- केन्या ५ विकेटले विजयीसन् २०१७- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप काठमाडौं- नेपाल ७ विकेटले विजयीजारी डिभिजन-२ मा नेपाल ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। क्यानडा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। क्यानडाले आइतबार भएको खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो। यसअघि क्यानडाले पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।
अंक तालिकाको तेस्रो स्थानमा युएई छ। युएईले एक खेलमा जित निकाल्दा २ खेलमा हार बेहोरिसकेको छ। २ खेलबाट २ अंक जोडेको आयोजक नामिबिया चौथो तथा ३ खेलबाट २ अंक जोडेको ओमान पाँचौ स्थानमा छ। दुवै खेलमा पराजित केन्या पुछारमा छ।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।