आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुका लागि नेपाली टोलीको घोषणा भएको छ ।
यही माघ २५ गतेदेखि नामिवियामा आयोजना हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १४ नियमित र ४ बैकल्पिक सहित १८ खेलाडीको घोषणा गरिएको हो।
युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साहले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्। हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए ।
यस्तै अनिल पनि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन्। विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नुअघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि साहलाई टिममा बोलाइएको थियो । तर, उनले खेल्ने मौका पाएका थिएनन्।
आईसीसी प्रतिनिधि अनिमुल इस्लामको संयोजकत्वमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित टिमले नेपाली खेलाडीको नामावली घोषणा गरेको हो।
https://www.youtube.com/watch?v=A2E0ORleyqw
नेपाली टिम शनिबार बैदेशिक प्रशिक्षणका लागि संयुक्त अरव इमिरेट्स युएई जानेछ। तीन अभ्यास खेलपछि नेपाली टोली त्यहीँबाट नामिविया प्रस्तान गर्नेछ ।
आगामी विश्वकप छनोटको अन्तिम अवसरका रुपमा रहेको डिभिजन टुको शीर्ष दुई स्थानमा पर्न सकेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ।
डिभिजन टुमा नेपाल र नामिवियासहित युएई, क्यानडा, ओमान र केन्या छन्। नेपाली टिमले आज अन्तिम प्रशिक्षण गरेको छ ।
नेपाली टोली
- पारस खड्का (कप्तान)
- ज्ञानेन्द्र मल्ल
- शक्ति गौचन
- बसन्त रेग्मी
- शरद भेषावकर
- सोमपाल कामी
- करन केसी
- आरिफ शेख
- सन्दीप लामिछाने
- दीपेन्द्रसिंह ऐरी
- दीलिप नाथ
- ललित भण्डारी
- अनिलकुमार साह
- रोहितकुमार पौडेल
वैकल्पिक खेलाडी
- सुनिल धमला
- ललित राजवंशी
- सिद्धार्थ लोहनी
- किशोर महतो