नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई हराएको छ। यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले सोमबार अष्ट्रेलियालाई ८ विकेटको फराकिलो अन्तरले हराएर सान्त्वना जित निकाल्दै प्रतियोगिताको यात्रा टुंग्याएको हो।
दुबईमा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर भेट्टायो।
अष्ट्रेलियामाथि जित निकाल्न नेपालले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाललाई जित दिलाउन पदम बडेलाले शतकीय पारी खेले । अविजित रहेका पदमले १२५ रन बनाए । उनले ७६ बलमा १४ चौका प्रहार गरे । त्यस्तै रमेश बानियाँले ४७ रन बनाउदा बद्री चौलागाईले ३५ तथा खिमानन्द गैरीले १७ रन बनाए । नरेश थारु ३६ रनमा रिटायर्ट हर्टको शिकार भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ३६ ओभर २ बलमा अलआउट हुँदै २९६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेफन नेरोले ६३ तथा म्याट क्यामरुनले ६२ रन जोडे । त्यस्तै ड्यानिएल प्रिचार्टले ४० रन बनाउदा लिन्ड्से हेभनले ३८ रन बनाए । नेपालका दुर्गादत्तले ३ विकेट लिए ।
अष्ट्रेलियाबिरुद्धको जितसँगै नेपालका कप्तान किर्तन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानाले सन्यासको घोषणा गरेका छन्। उनीहरुले संघका अध्यक्ष पवन घिमिरे र प्रशिक्षक रिजन प्रजुको रोहबरमा सन्यासको घोषणा गरेका हुन्। नेपालमा दृष्टिबिहीन क्रिकेट सुरु हुँदा नै नेपाली टोलीमा रहेका विक्रम र किर्तनले नयाँ युवा खेलाडीलाई अवसर दिन आफूहरुले सन्यास लिएको बताए ।
यसअघि भएका ४ वटै खेल हारेर नेपाल र अष्ट्रेलिया दुबै प्रतियोगिताबाट बाहिरिइसकेका छन्। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश नेत्रहीन विश्वकपको सेमिफाइनमा पुगिसकेका छन् ।
यसैबीच विश्वकप खेल्न रेल र बसमार्फत संघर्ष गरेर पाकिस्तान पुगेको टोली फर्कँदा भने प्लेनमै फर्कने भएको छ। नेपाली क्रिकेट समर्थक समाजले ६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेपछि उनीहरुलाई प्लेनबाटै काठमाडौं ल्याइने पक्का भएको हो।