धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करण आगामी चैत १७ गतेबाट हुने भएको छ। सर्वाधिक पुरस्कार राशीको नेपाली घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई खेलाडी बोलकबोल(अक्सन) को आवेदन भराउँदै फाराम खुलेको जानकारी दिइएको हो।
अक्सनमा सहभागी हुन चाहेने खेलाडीहरूले डिपिएलको वेभसाइटमा गई आवेदन दिन सक्ने प्रतियोगिताका निर्देशक सुवास शाहीले जानकारी दिए। बुधबारबाट आह्वान गरिएको आवेदन माघ २५ गतेसम्म कायम गरिने उनले बताए।
दर्ता भएका खेलाडीहरुलाई अक्सनमा राखिने भएको छ। आगामी फागुन ५ गते हुने अक्सनमा प्रत्येक टोलीले खेलाडीहरुकाे बोलकबोल गरि अाफुसँग अनुबन्ध गर्नेछन्। त्यसअघि डिपिएल–२ खेल्ने टोली र रणनितिक खेलाडीको निर्णय लिइने आयोजकले जनाएको छ।
प्रतियोगितामा आयोजकले प्रत्येक टोलीलाई दुई विदेशी तथा ट्यालेन्ट हन्टबाट एक खेलाडी अनिवार्य गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ। क्रिकेटकाे कल्चरलाई निरन्तरता दिदै यसपटक डिपिएलले टिकेटिङ पार्टनरका रुपमा ई–सेवासँग सम्झौता गरिएको छ।
आयोजक धनगढी प्रिमियर लिगले यसअघि नै विजय डिस्टिलरीको रुस्लान क्रिकेटसंग मुख्य प्रायोजन सम्झौता गरिसकेको छ।