५२ रन बनाएर भैरहवा ग्लाडियटर्सका कप्तान शरद भेषवाकर रनआउट


भैरहवा ग्लाडियटर्सका कप्तान शरद भेषवाकर ५२ रन बनाएर रनआउट भएका छन्। योसहित भैरहवाले तेस्रो विकेट गुमाएको हो। भैरहवाले १५ ओभर सकिँदा १०७ रन जोडेको छ भने अब ३० बलमा ४३ रन आवश्यक छ।

एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधिका लागि आज पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषवाकर नेतृत्वको भैरहवा ग्लाडियटर्स भिडिरहेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले भैरहवालाई १ सय ५० रनको लक्ष्य दिएको छ।

विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको छ। यसका लागि ओपनर अंशुमन रथले ४१ रन, कप्तान पारस खड्काले २७ र अनिल साहले २२ रन बनाए।

अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको फाइनलको विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन्।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको विराटनगरले लिग चरणमा पाँच खेल जित्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गरेको थियो।

आज यदि विराटनगरले उपाधि जित्यो भने एउटै प्रतियोगितामा भैरहवामाथि पारसको टिमको जित तथा शरद भेषावकरको टिमको हारको ह्याट्रिक हुनेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.