चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर एभरेस्ट प्रिमियर लिग (इपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ।
अाजकाे खेलपछि समूहमा दोस्रो भनेको भैरहवाले पाँच खेलबाट ८ अंक जोडेकाे छ। अपराजित रहेकाे विराटनगर वारियर्सले १० अंक जोड्दै यसअघि नै क्वालिफायरमा स्थान बनाइसकेको थियो।
त्यस्तै अाज चितवन पराजित भएपछि पोखरा राइनोज पनि प्लेअफमा पुगेको छ। चार खेलबाट ४ अंक जोडेको पोरखाले अन्तिम खेलमा ललितपुर पार्ट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ। ललितपुर र चितवनको समान २–२ अंक छ। पोखरालाई हराए ललितपुर प्लेअफमा पनि पुग्नेछ भने चितवन बाहिरिनेछ।
मंगलबार कीर्तिपुरस्थित त्रिवी मैदानमा चितवनले दिएको ८८ रनको लक्ष्य भैरहवाले ओभरमा ६ विकेटको क्षतिमा १८.३ ओभरमा पार गर्यो भैरहवाका लागि पुनित मिश्राले सबैभन्दा बढी ३० रन बटुले। रोहितकुमार पौडेलले २० रनको योगदान गरे भने भुपेन्द्र थापाले १३ रन जोडे।
ओपनरद्वय प्रदीप ऐरी १ र प्रथम सलुंके शून्य रनमा आउट भएका थिए। कृष्ण कार्कीले नटआउट ८ रन जोड्दा कप्तान शरद भेषवाकर ८ रनमा आउट भए। बलिङतर्फ चितवनका सहाव अलाम र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो। चितवनका ओपनर दिलीप नाथ ४ तथा सन्दीप सुनार शून्य रनमा आउट भए भने कप्तान दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले १५/१५ रन बटुले। ललितसिंह भन्डारीले नटआउट १३ र आकाश थापाले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
बलिङतर्फ भैरहवाका कप्तान शरद भेषवाकरले ३ विकेट लिए। हरिशंकर साह र भुवन कार्कीले २/२ विकेट हात पारे भने कृष्ण कार्की र पुनित मिश्राले १/१ विकेट लिएका छन्।