क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी पुस ३ देखि काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई मान्यता दिएको छ।
कुनै पनि देशको क्रिकेट संघ निलम्बनमा परेको अवस्थानमा घरेलु प्रतियोगिता गर्न आइसिसीको मान्यता हुनुपर्ने नियमअनुसार आइसिसीले इपिएललाई मान्यता दिएको हो।
योसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलेसमेत प्रतियोगितामा सहभागी हुन पाउने भएका छन्। इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले एक वर्षका लागि आइसिसिले मान्यता दिएको भन्दै त्यसवापत इपिलले २० हजार डलर समेत आइसिसीलाई बुझाएको बताएका छन्।
यसअघि आइसिसीले इपिएल मान्यता प्राप्त प्रतियोगिता नभएकाले कुनै पनि खेलाडीलाई खेल्न अनुमति नभएको जानकारी दिएको थियो।
आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमतिन दिन नसकिने इमेल मार्फत जनाएका थिए।
हेर्नुहोस् समाचारमा- २०७३ वैशाखदेखि नेपाल क्रिकेट संघ (क्यान) आइसिसिको निलम्बनमा छ। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन आफैं हेर्दै आइरहेको छ।
इपिएलका कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा समेत ब्यापक परिवर्तन र अन्तर्राष्ट्रियकरण गरिने आयोजकले जनाएको छ।
इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि प्रतियोगिताका लागि
अक्सन (बोलकबोल) मार्फत प्रत्येक टिमले १०–१० खेलाडी भित्र्याएका थिए। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ।
काठमाडौं टिमको नेतृत्व सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए।