आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ।
आबुधावीको शेख जायेद रंगशालामा बुधबार पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे। यस्तै ओपनर रोहन मुस्ताफाले ६२ रन बनाएका थिए। अस्फक अहमेद १९ रनमा आउट भए भने रहिम शाहजादले ३७ रन बनाए। मोहमद उस्मानले नटआउट १७ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए।
घरेलु टोली युएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो।
नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरेका थिए।
यस्तै, बसन्त रेग्मीले नटआउट १४ रन जोडे। ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथले १६ रन जोडे।
कप्तान पारस खड्का र सोमपाल कामीले २०–२० रनको योगदान गरे। आरिफ शेख शून्य रनमा रनआउटको सिकार बन्दा विनोद भन्डारीले ४ रन भन्दा बढी जोड्न सकेनन्। बलिङतर्फ युएईका जाहुर खानले २ विकेट लिए।
योसँगै २०१४ मा मलेसियामा सम्पन्न एसीसी प्रिमियर लिगमा नेपालबाट पाएको हारको बदला यूएईले लिएको छ। त्यसयता नेपाल र यूएई बुधबार पहिलो चोटी आमनेसामने भएका हुन्। अब सातौं चरणको दोस्रो खेलमा नेपाल र युएईबीच पर्सि शुक्रबार प्रतिस्पर्धा हुनेछ।
https://www.youtube.com/watch?v=jFV1THQcD-w