यु १९ एसिया कपबाट भारत र श्रीलंका बाहिरिए


डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतियोगिताको प्रमुख दाबेदार श्रीलंका पनि मलेसियामा जारी यु १९ एसिया कपको समूह चरणबाटै घर फर्किएका छ। एसियाली महारथि एवम् टेष्ट मान्यता प्राप्त देशहरू श्रीलंका र भारत बिनै यसपाली एसिया कपको सेमिफाइनल हुने भएको छ। यस अघि श्रीलंकामै भएको दोस्रो प्रतियोगितामा श्रीलंका र भारतले फाइनल खेलेका थिए।

समूह ए मा तीन खेलमध्ये २ मा हार र एक जितसहित २ अंक बटुलेर अंक तालिकाको तेस्रोमा रहेको भारत प्रतियोगिताबाट बाहिरिएको हो। समूह बी मा रहेको श्रीलंका पनि तीन मध्ये दुई खेल जितेर ४ अंक भए पनि राम्रो रनरेट नभएकाले तेस्रो हुँदै बाहिरिनु परेको हो।

मंगलबार तुलनात्मक रूपमा कमजोर युएईलाई अफगानिस्तानले फराकिलो अन्तरमा हराउँदै रनरेट राम्रो बनाएर समूह बिजेता हुँदै सेमिफाइनल पुगेपछि श्रीलंका समूह चरणबाटै घर फर्कन बाध्य भयो।

अघिल्लो संस्करणमा श्रीलंकालाई ३४ रनले हराउँदै भारतले लगातार दोस्रो पटक उपाधि उचालेको थियो। उपाधिमा ह्याट्रिक गर्ने सुर कसेको भारतलाई यसपाला बंगलादेश तगारो बनिदियो। बंगालदेश अघिल्लो संस्करणमा सेमिफाइनलमा श्रीलंकासँग हारेको थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.