डीफेन्डिङ च्याम्पियन भारतलाई पन्छाउँदै नेपाल मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
टेष्ट मान्यता प्राप्त राष्ट्र भारतलाई १९ रनले हराएको नेपाल आज भएको समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले हराएसँगै समूह उपविजेता भएर अन्तिम चारमा प्रवेश गरेको हो।
नेपाललाई सेमिफाइनलमा पुर्याउन बंगलादेशले भारतलाई हराएको हो।
वर्षाले प्रभावित खेलमा बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। भारतले निर्धारित ३२ ओभरको खेलमा ८ विकेट गुमाउँदै १८७ रन बनायो। डिएल नियम अनुसार ३२ ओभरमा १९० रनको नयाँ लक्ष्य पाएको बंगलादेशले खेल सकिन २४ बल बाँकी छँदै ८ विकेटले विजयी भयो। बंगलादेशका लागि पिनाक घोषले सर्वाधिक ८१ रन बनाए।
यस्तै मोहम्मद नाइम शेखले ३८ रनको योगदान दिए।
यो खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको छ। समूह ए बाट बंगलादेश र नेपाल तथा समूह बी बाट अफगानिस्तान र श्रीलंका अन्तिम चारमा प्रवेश गरेका छन्।
अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।
समूह बीबाट अफगानिस्तानले युएईलाई हराएपछि रन रेटका आधारमा समूह विजेता बनेको हो। समूह बीबाट पाकिस्तान र युएई आउट भए।