८ वर्षपछि घरेलु भूमीमा शीर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेको पाकिस्तानले श्रीलंकालाई हराएको छ।
सन् २००९ मा श्रीलंकाली टिम सवार बसमाथि लाहोरमा आतंकवादी हमला भएपछि पाकिस्तानमा शीर्ष टिमबीचको अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थिएन।
८ वर्षपछि लाहोरमै फेरि श्रीलंकासँगै पाकिस्तानले टी–२० खेल खेलेर जित निकाल्दै तीन खेलको सिरिज क्लिन स्विप गरेको हो।
आइतबार साँझ भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। १८१ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो।
३६ रनको जितसँगै पाकिस्तानले ३ खेलको सिरिज क्लिन स्विप गरेको हो। यसअघि दुबईमा भएको दुबै टी–२० खेलमा पाकिस्तान विजयी भएको थियो।
८ वर्षअघि भएको आतंककारी हमलापछि पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता युएइमा खेल्दै आइरहेको छ।
८ वर्षपछि श्रीलंकाली टिम शनिबार लाहोर पुग्दा कडा सुरक्षा व्यवस्था प्रदान गरिएको थियो। खेलाडी बसेको पाँचतारे होटलमा बम निरोधक दस्ता तैनाथ गरिएको थियो। सुरक्षा खतरालाई मध्यनजर गर्दै टिमका वरिष्ठ खेलाडी तथा मुख्य प्रशिक्षक यो भ्रमणमा थिएनन्।
यसअघि सन् २००९ मा श्रीलंकाली टिम सवार बसमाथि लाहोरमा आतंकवादी हमला हुँदा ८ सर्वसाधारणले ज्यान गुमाएका थिए।
श्रीलंकाका ७ खेलाडी र स्टाफसमेत घाइते भएका थिए। त्यसपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट रद्द भएको थियो।