भारतीय टिमका ओपनर रोहित शर्माले नयाँ रेकर्ड बनाएका छन्।
आइतबार कानपुरमा न्यूजिल्याण्डबिरूद्धको तेस्रो तथा निर्णायक वान डेमा उनले १५औं शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएका हुन्। रोहितले हिजो १ सय ६ बलमा १८ चौका र २ छक्काको मद्दतमा आफ्नो १५औं शतक प्रहार गर्ने क्रममा १४७ रन बनाए। यो शतक प्रहारपछि रोहित वान डेमा भारतका लागि सर्वाधिक शतक प्रहार गर्ने संयुक्त रूपमा चौथो ब्याट्म्यान बनेका छन्। सबैभन्दा बढी शतक प्रहार गरेको रेकर्ड भने सचिन तेन्दुलकरको नाममा छ । उनले ४९ शतक प्रहार गरेका छन्।
यस्तै उनले आउट हुनुअघि कप्तान विराट कोहलीसँग दोस्रो विकेटका लागि २ सय ३० रनको सानदार साझेदारी खेलेका थिए।
यो सँगै वान डेमा रोहितले १ सय ५० छक्का पूरा गरेका छन् । १ सय ५० छक्का प्रहार गर्ने उनी पाँचौं भारतीय क्रिकेटर हुन् । रोहितले सबैभन्दा कम पारीमा १ सय ५० वान डे छक्का प्रहार गरेका हुन्। रोहित १ सय ६५औं वान डे पारीमा १ सय ५० वान डे छक्का प्रहार गरे।
धोनीले १ सय ९२ पारीमा बनाएको रेकर्ड शर्माले तोडिदिएका हुन् । रोहितले साहिद अफ्रिदीले बनाएको विश्व रेकर्ड भने तोड्न सकेनन्। अफ्रिदीले १ सय ६०औं पारीमा सो उपलब्धि हासिल गरेका थिए। रोहितले योसँगै वानडेमा ६२०७ रन बनाएका छन्।