भरतपुरमा खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा पुसको ४ देखि ६ गतेसम्म भरतपुर–१० स्थित भरतपुर कभर्डहलमा प्रथम भरतपुर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्न लागिएको हो।
प्रतियोगितामा देशभरका करिब एक हजार खेलाडीले सहभागिता जनाउने समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको बताए।
महिला र पुरूषको छुट्टाछुट्टै तौल समूहमा हुने प्रतियोगितामा १० वटा पुम्से विधा तथा ३० वटा क्यारोगी (फाइट) गरी ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने श्रेष्ठले बताए। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र पाउनेछन्।
उक्त प्रतियोगितामा खेलाडीले प्राप्त गरेको पदकका आधारमा पहिलो हुने डोजाङले ५० हजार रुपैयाँ, ट्रफी, मेडल एवम् प्रमाणपत्र, दोस्रो हुने डोजाङले ३० हजार रुपैयाँ, ट्रफी, मेडल एवम् प्रमाणपत्र तथा तेस्रो हुने डोजाङले २० हजार रुपैयाँ, ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट हुने एक–एक जना महिला र पुरुष खेलाडीलाई पाँच हजार पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए।
प्रतियोगिता अगाडि पुस ३ गते भरतपुरमै तेक्वान्दोको राष्ट्रिय रेफ्री सेमिनारको आयोजना गरिएको छ।